ad ad

समाज


शिवेश्वर सामुदायिक वनमा एक सातादेखि डढेलो, निभाउने प्रयास नै भएन

शिवेश्वर सामुदायिक वनमा एक सातादेखि डढेलो, निभाउने प्रयास नै भएन

नेपालखबर
चैत १५, २०७७ आइतबार ३:४८,

सर्लाहीको हरिवनमा रहेको शिवेश्वर सामुदायिक वनमा विगत एक सातादेखि डढेलो लागिरहेको छ।

चुरे क्षेत्रमा अवस्थित शिवेश्वर सामुदायिक वन डढेलोले सखापन हुने अवस्था सिर्जना हुँदासमेत निभाउने प्रयास भएको छैन। वनको कार्य समितिले डढेलो निभाउने प्रयास नगरेको स्थानीयको आरोप छ। समूहको कार्यसमिति नै अकर्मन्य हुँदा डढेलोले वन सखाप हुने अवस्था सिर्जना भएको गुनासो स्थानीयले गरेका छन्।

समितिका अध्यक्ष बद्री बरालले भने उपभोक्ताले साथ नदिँदा डढेलो निभाउन नसकिएको दाबी गरे। ‘डढेलो निभाउन सकिन्छ कि भनेर हामीले शनिबार समितिका उपलव्ध साथीहरुबीच छलफल गर्यौं, तर डढेलो चारैतिर फैलिएकाले निभाउन सकिँदैन भन्ने निष्कर्ष आयो,’ उनले भने, ‘कार्यसमितिका साथीहरु नै सक्रिय छैनन्। उपभोक्ताले पनि चासो नराख्दा समस्या भयो।’ समूहको कार्यसमिति १९ सदस्यीय भए पनि धेरैजसो निस्क्रिय रहेका बरालले बताए।

उनले आज होली भएकाले डढेलो निभाउने प्रयास भोली मात्रै गरिने बताए। ‘डढेलो निभाउने पहलको लागि म समितिका साथीहरुलाई खबर गर्छु। सबै उपभोक्ताले हाम्रो प्रयासमा साथ दिनुपर्छ,’ उनले भने।

एक साताअघि हरिवन नगरपालिका- १ मा पर्ने केराबारी क्षेत्रबाट सुरु भएको डढेलो अहिले वनको चारैतिर फैलिइसकेको छ। ६ महिनादेखि पानी नपरेर सुख्खा भएको वनमा डढेलो फैलिन सहज भएको छ। डढेलोले लाखौँ मूल्यका काठदाउरा, बोटविरुवा नष्ट गरेको छ। डढेलोले वन्यजन्तु र चराचुरुङ्गीमा पनि क्षति पुगेको छ। डढेलोको धुँवाले आँखा पोल्ने समस्या वढेको स्थानीयले बताएका छन्।

जिल्ला वन कार्यालय सर्लाहीका प्रमुख (डिएफओ) माधव देवले डढेलो लाग्न नदिन सामुदायिक वनको कार्यसमिति र उपभोक्ता नै सचेत बन्नुपर्ने बताए। ‘डढेलो लाग्ने मानवीय कमजोरीकै कारणले हो,’ डिएफओ देवले नेपालखबरसँग भने, ‘डढेलो लागिहाले उपभोक्ताले निभाउनुपर्छ। नत्र त्यसले हाम्रो वनजंगल मात्र सखाप हुँदैन, जैविक विविधतामै दीर्घकालिन असर गर्छ।’

वनमा डढेलो लगाउनेलाई तीन वर्षसम्म कैद र क्षतिको आधारमा जरिवना हुने कानुनी व्यवस्था रहेको उनले बताए। सर्लाहीमा अहिले तीन ठाउँमा डढेलो लागिरहेको जानकारी दिँदै उनले जिल्ला वन कार्यालयले पनि डढेलो निभाउने प्रयास गरिरहेको दाबी गरे। ‘हामीसँग डढेलो निभाउने स्रोत साधनको पनि कमी छ। फेरि पनि डढेले निभाउने प्रयास हामीले गरिरहेका छौँ,’ उनले भने।

देवका अनुसार यतिबेला सर्लाहीको हरिवन, जानकीनगर र फुलजोर क्षेत्रको वनमा डढेलो लागिरहेको छ। ‘कतिपय ठाउँमा आकस्मिक रुपमा फैलिने डढेलोबाट बस्तीलाई जोगाउन स्थानीयले नै वरपरको क्षेत्रमा आगो लगाउने गरेका छन्,’ देवले भने, ‘त्यसरी लगाइएको आगो स्थानीयले नै निभाउनुपर्छ। त्यो डढेले अन्यत्र फैलियो भने कारबाही हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .