ad ad

समाज


त्रिशूली बस दुर्घटनाः बेपत्ता यात्रुको खोजीमा पाँच जिल्लाका सुरक्षाकर्मी परिचालन

त्रिशूली बस दुर्घटनाः  बेपत्ता यात्रुको खोजीमा पाँच जिल्लाका सुरक्षाकर्मी परिचालन

नेपालखबर
साउन २८, २०७६ मंगलबार २:२५,

पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट बस त्रिशूली नदीमा खस्दा बेपत्ता भएका यात्रुको खोजीमा पाँच जिल्लाका सुरक्षाकर्मी परिचालन भएका छन्।

जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई पनि खोजीमा आग्रह गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेका हुन्।

प्रजिअ पाण्डेको आग्रहपछि सबै जिल्लाका प्रहरी नदी किनारमा खोजीका लागि जुटेका छन्।

खोजीकार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायलाई समन्वय गरेर परिचालन गरिएको प्रजिअ पाण्डेले बताए।

गत शुक्रबार सर्लाहीको मलङ्गवामा चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खसेको थियो।

दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको शव फेला परेको छ। उक्त बसमा सवार १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशङ्का गरिएको प्रजिअ पाण्डेले बताए।

हिँडेरमात्र खोजी सम्भव नभएकाले त्रिशूली नदी किनारमा रहेका छ रिसोर्टलाई समेत सतर्क रहन र खोजीकार्यमा सघाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ।

चितवनको कुरिनटारमा समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्तले बारम्बार भइरहने सवारी दुर्घटना कम गराउन सरकारले प्रभावकारी कार्य गर्न नसकेको गुनासो गरेका छन्।

वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .