समाज


अब प्रभावमा आधारित भएर मौसमको पूर्वानुमान गरिने

अब प्रभावमा आधारित भएर मौसमको पूर्वानुमान गरिने

नारायण ढुंगाना
चैत ११, २०७७ बुधबार ४:२६,

जल तथा मौसम विज्ञान विभागले तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ । त्यसमा ‘नेपालमा फलानो/फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ’, भन्ने उल्लेख हुन्छ।

विभागको आजको बुलेटिन हेर्ने हो भने ‘आगामी २४ घण्टामा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ भन्ने सूचना छ। विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

विभागले दिने गरेको तीन दिनको मौसम पूर्वानुमानमा घटना हुन सक्नेछ भन्ने मात्र जानकारी प्राप्त छ । यस्तो सूचनाले मौसमको अवस्थाबारे त थाहा पाइयो तर कुन क्षेत्रमा के असर गर्दैछ भन्ने जानकारी पाउन सकिएको छैन । यो परम्परागत मौसम पूर्वानुमान प्रणाली विगतमा भन्दा केही प्रभावकारी भए पनि त्यसले असर न्यूनीकरणमा खासै काम गर्न सकेको देखिएको छैन।

गत वर्षको विपद्लाई हेर्ने हो भने पनि त्यसले पुष्टि गर्छ । जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठ परम्परागतरूपमा मौसम पूर्वानुमान गर्दा सोचे जति क्षति कम हुन नसकेको स्वीकार्छिन्।

त्यसैले अब मुलुकमा घटना हुँदैछ मात्रै होइन, त्यसले कुन–कुन क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छ? कुन बस्तीलाई कस्तो असर पार्न सक्छ, त्यो बेलामा मानिसले के गर्न हुन्छ, के गर्न हुँदैन, कस/कसले सावधानी अपनाउने र त्यसका लागि कुन निकाय कसरी परिचालन गर्ने भन्नेसम्मको पूर्वानुमान दिने गरी ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’को प्रयोग गर्न लागिएको छ। यही वर्षबाट नमूनाका रूपमा उक्त परियोजना सञ्चालन हुँदैछ।

उपमहानिर्देशक श्रेष्ठले भनिन्, ‘मौसमजन्य र जलजन्य प्रकोपबाट क्षति कम गर्न, मानिसको ज्यान जोगाउन, समाजलाई मौसमप्रति सजग गराउन र राम्रो जलवायुबाट कसरी फाइदा लिने भन्ने सोचअनुसार नै सँगै मिलेर जाने गरी उक्त कार्यक्रम ल्याइएको हो।’

नेपालमा आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो, भारी वर्षा, हावाहुरीलगायत विपद्जन्य घटनाले बर्सेनि जनधनको ठूलो क्षति हुने गरेकोे छ । यो वर्ष भेल पहिरोले मुलुकलाई नराम्ररी प्रभावित बनायो । पहिरोका ४९८ घटनामा ३०१ जनाले ज्यान गुमाए । बाढीले ४२ जनाको ज्यान लग्यो । बाढीमा परेका ३७ र पहिरो परेका ६४ जना अझै बेपत्ता छन्।

मुलुकमा यो वर्ष अहिलेसम्म तीन हजार ६५९ विपद्जन्य घटनाबाट ५६८ जनाको मृत्यु भएको छ । कूल १०१ जना बेपत्ता छन् भने झण्डै दुई अर्बको क्षति भएको छ । ती घटना हेर्दा विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको देखाउँछ।

मुलुकमा अहिले पूर्वमनसुन भित्रिसकेको छ । मनसुन आउनुअघि नै आवश्यक तयारी गर्नका लागि यसपालिदेखि भने नमूना परियोजनाका रूपमा विभिन्न नौ जिल्लामा प्रभावमा आधारित मौसम पूर्वानुमान परियोजना सञ्चालन गर्न लागिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सबै निकाय मिलेर काम गर्न सकियो भने प्रभावमा आधारित मौसम पूर्वानुमानले धनजनको क्षति जोगाउन सकिने बताउँछन्। विगतका अनुभवबाट सिकेर कमजोरी हटाउँदै प्रभावकारी योजना अघि बढाउन उक्त कार्यक्रम सफल हुने उनको विश्वास छ। यसका लागि अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिन थालिएको पोखरेलले बताए।

नेपाल सरकारका सहसचिव कृष्णहरि पुष्कर जीवन, सम्पत्ति, दैनिक जनजीवनको सुरक्षाका बारेमा सूचना स्रोत सङ्कलन नै प्रभावमा आधारित मौसम पूर्वानुमान भएको बताए। ‘अहिले विपद् आउँदा एकैचोटि उद्धार तथा राहत दिने काममा हिँड्नु परिरहेको अवस्था छ’, उनले भने, ‘अब त्यसरी होइन सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा विपद्का घटना हुँदैछ मात्रै होइन, त्यसको असर के–के हुनसक्छ, त्यसबाट कसरी जोगिने, कसरी क्षति कम गर्न सकिन्छ भनेर पनि ध्यान दिनुपर्छ।’

अन्तर्राष्ट्रिय अभ्यासको समेत उपयोग गरेर नीति, योजना, स्रोत साधन, ज्ञान वितरणका साथै जोखिम कम गर्न समन्वय भयो भने क्षति कम गर्न सम्भव रहेको उनले बताए

प्रभावमा आधारित मौसम पूर्वानुमानसम्बन्धी पूर्वतयारी स्वरूप अहिले काठमाडौँमा सम्बन्धित क्षेत्रमा प्रतिनिधि, विभिन्न सरकारी संस्थाका विज्ञ तथा अधिकृतका लागि मङ्गलबारदेखि तीनदिने तालिम शुरु भएको छ । मुलुकका जोखिममा रहेका नौ जिल्लामा लागू गर्न लागिएको नमूना परियोजनाका लागि बहुसाझेदारसँग समन्वय गर्न तामिल आयोजना गरिएको हो।

जलतथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, युकेमेट र रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरको संयुक्त आयोजनामा उक्त प्रशिक्षण शुरु भएको हो । पहिलो चरणको तालिम सकिएपछि पुनः वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा प्रभावित क्षेत्रका व्यक्तिसमेत सहभागि गराएर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ।

पानी कहाँ पर्छ, कति पर्छ, बाढी, पहिरोको सम्भावना कति छ भन्ने परम्परागत सूचना प्रणालीलाई प्रभावमा आधारित बनाएर मौसमले के गर्न सक्छ, कहाँ कस्तो असर गर्नसक्छ र त्यसबाट सावधानीका के–केस्ता उपाय हुनसक्छ भनेरसमेत पूर्वानुमान गर्ने गरी उक्त नमूना कार्यक्रम शुरु गर्न लागिएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad