कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।
मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो।
गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका हुन्।
उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय पैदल यात्री २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो। प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिइसकेको छ।
तर, मृतकका आफन्त र स्थानीयले अस्पतालबाट शव निकालेर सडकमा लगेका थिए। सुरुमा चोकमा प्रदर्शन गरेका स्थानीय पछि इलाका प्रहरी कार्यालयमै प्रवेश गरेको र प्रहरीलाई नै तानेर घिसार्न थालेपछि स्थिति तनाबग्रस्त बनेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
उनका अनुसार चोकमा प्रदर्शन भइरहेको अवस्थामै प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो। तर, उनीहरु प्रहरी कार्यालय नै घेराउ गर्न अगाडि बढेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको र त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि गोली नै चलाउनु परेको थापाले नेपालखबरलाई बताए। स्थानीयको ढुंगामुढाबाट केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ।
अहिले पनि त्यहाँ प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया