काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेका शवको सनाखत भएको छ।
शुक्रबार जंगलमा भेटिएका दुवै जना १७ र १८ वर्षका विद्यार्थी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए।
मृतकमध्ये एक जना नुवाकोटको छापाका १६ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेको भुम्लुका १७ वर्षीय मंगल तामाङ रहेको खुलेको हो।
मृतकका आफन्तले शवको पहिचान गरेका हुन्। उनीहरु दुवै जना बाङ्गेमुडामा डेरा गरी बस्थे। अर्जुन असनस्थित टेउडा स्कुलमा र मंगल क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा पढ्थे।

शव फेला परेको स्थाननजिकै दुई वटा विषको बट्टा पनि भेटिएको तर उनीहरुले विष सेवन गरे नगरेको भने पुष्टि भइनसकेको एसपी बस्नेतले बताए।
‘शव फेलापरेको स्थाननजिकै दुई वटा विषको बट्टा पनि भेटिएको छ’, नेपालखबरसँग एसपी बस्नेतले भने, ‘उनीहरुले विष सेवन गरेको भन्ने पुष्टि भएको छैन, यसबारे हामी अनुसन्धान गरिरहेका छौँ।’
दुवै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनास्थलमा अवलोकनमा गर्न त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डाक्टर पुगेका थिए। यस्तै तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि लगिएको छ।
शव फेला परेको खबरपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहसहितको टोली पनि घटनास्थल पुगेको थियो। प्रहरी अपराध महाशाखा र परिसरको टोलीले अनुसन्धान थालेको छ।

Shares

प्रतिक्रिया