समाज


४० वर्षदेखि बन्दी बनाइएका नेपालीलाई रिहा गर्न कलकत्ता उच्चअदालतको आदेश

४० वर्षदेखि बन्दी बनाइएका नेपालीलाई रिहा गर्न कलकत्ता उच्चअदालतको आदेश

नेपालखबर
चैत ५, २०७७ बिहिबार ११:१९,

कलकत्ता उच्चअदालतले बुधबार ४० वर्षदेखि त्यहाँको एक सुधारगृहमा बन्दी बनाइएका नेपाली नागरिकलाई रिहा गर्न आदेश दिएको छ।

दार्जिलिङमा भएको एक हत्याकाण्डका सम्बन्धमा उनलाई पक्राउ गरी सो सुधारगृहमा राखिएकोमा अदालतले उनलाई त्यहाँ राख्नु अनुचित ठहर गरेको थियो।

७० वर्षीय नेपाली नागरिक दीपक जैसीलाई दमदम केन्द्रीय सुधारगृहमा राखिएको छ। सन् १९८१ मा दार्जिलिङमा भएको एक हत्याकाण्डका सम्बन्धमा उनलाई पक्राउ गरिएको थियो।

सोहि सुधारगृहमा रहेका अर्का एक व्यक्तिले दिएको जानकारीका आधारमा त्यहाँको हम रेडियोका सञ्चालकले उनीसँग सम्पर्क स्थापित गरेका थिए।

वर्षौंसम्म उनको अवस्थाबारे अज्ञात रहेका जैसीका परिवारका सदस्यले उनी कलकत्तामा बन्दी बनाइएको थाहा पाएपछि नेपाल सरकारलाई सम्पर्क गरी उद्दारको पहल गर्न आग्रह गरेका थिए।

उनको बन्दी अवस्थाबारे समाचारहरु प्रकाशित भएपछि कलकत्ता उच्चअदालतका मुख्य न्यायाधीशले एक वकिललाई अदालतमा निवेदन दिन सुझाएका थिए।

सोहिअनुसार उनलाई त्यहाँबाट मुक्त गरी नेपाल फिर्ताका लागि निवेदन दिइएको थियो।

सो राज्यका कानुनी सेवा प्राधिकरणका वकिल जयन्तनारायण चटर्जीका अनुसार जैसीको मानसिक स्थितिमा समस्या भएको पाइएको छ। उनले नेपालमा आफ्नो गाउँ कहाँ हो भन्ने समेत सम्झन सक्दैनन्।

उच्चअदालतले जैसीलाई अझै पनि बन्दी बनाइराख्नुपर्ने कुनै ‘अर्थपूर्ण उद्देश्य’ नरहेको बताएको छ।

कलकत्ता विश्वविद्यालयका मनोवैज्ञानिक विज्ञहरुले उनको बौद्धिक र जानकारीको स्तर अध्ययन गरी एक प्रतिवेदन तयार पारेको थियो।

मुख्य न्यायाधीश टीबीएन राधाकृष्णन र न्यायाधीश अनिरुद्र रोयको इजलाशले जैसीलाई रिहा गर्न आदेश दिएको हो। त्यसपछि जैसीलाई उनको अवस्थाबारे जानकारी पाएर सम्पर्कमा आएका आफन्त प्रकाशचन्द्र शर्मा तिम्सिनाको जिम्मा लगाउने भएको छ।

अदालतले तिम्सिनालाई आवश्यक परेको अवस्थामा उनलाई अदालतमा उपस्थित गराउने शर्त गराएर रिहा गर्ने आदेश दिएको हो।

सो सहमति पत्र कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका कार्यालय सचिव सतिश थापालाई समेत बुझाइएको छ।

इजलासले दम दम केन्द्रीय सुधारगृहलाई यी प्रक्रिया तत्काल पुरा गरी उनलाई रिहा गर्न आदेश दिएको छ।

अदालतले उनको रिहाईपछि नेपाली महावाणिज्य दूतावाससँगको समन्वयमा उनलाई नेपाल पठाउने सबै आवश्यक व्यवस्था सुनिश्चित गर्न सम्बन्धित सबै निकायलाई निर्देशन समेत दिएको छ। –द वायर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad