सरकारी छाप र लेटरप्याड दुरुपयोग गरेको आरोपमा प्रहरीले एक निर्माण व्यवसायीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रविन्द्र महर्जन रहेका छन्।
ललितपुर भैँसेपाटीका ४१ वर्षीय महर्जनले ललितपुरको पुल्चोक, श्रीमहल स्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याड कीर्ते गरेको आराेप लागेको छ।
उनले लेटरप्याडमा ‘चपुर–९ स्थित निर्माण कार्य नै नभएको बहुतल्ले अस्पताल भवन, मेडिटेन हल, क्लास रुम र कम्पाउण्ड वाल समेत मिति २०७१/०५/२४ गते निर्माण कार्य सुरु गरी भ्याट बाहेक जम्मा रु ४३,३७,५५,६०९र८८ (त्रिचालिस करोड सैँतिस लाख पचपन्न हजार छ सय नौ रुपैयाँ अठासी पैसा मात्र) मा मिति २०७३/०६/०८ गते सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरिन्छ’ भन्ने व्यहोरा उल्लेख गरी संस्थाका योजना अधिकृत गंगा कुमारी गुरुङ र शाखा अधिकृत दिर्घ कुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्रहरु कीर्ते गरेका थिए।
महर्जनको साथबाट विभिन्न संस्थासँग गरिएका सम्झौतापत्र, चेकबुक, लेटप्याडलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया