धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले कार्कीले ठेक्का सम्झौताअनुसारको काम सम्पन्नपश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेकी थिइन्।
उजुरी परेपछि आयोगको टंगालबाट खटिई गएको टोलीले इन्जिनियर कार्कीलाई ९५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला धादिङ्ग, गंगा जमुना गाउँपालिकामा कार्यरत लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्कीले बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सम्पन्नपछि पश्चात बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको थाहा भएको छ।
लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा कार्कीले आफू र लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको लागि ९५ हजार घुस रकम लिएको अवस्थामा बरामद भएको थियो। दुवै जनाविरुद्ध सोही रकमबराबरको बिगो दाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।

प्रतिक्रिया