समाज


सञ्चालनमा आएको ६ वर्षपछि धुलिखेल-सिन्धुली-बर्दिवास सडक मर्मतको काम सुरु

सञ्चालनमा आएको ६ वर्षपछि धुलिखेल-सिन्धुली-बर्दिवास सडक मर्मतको काम सुरु

सञ्चिता घिमिरे
फागुन २८, २०७७ शुक्रबार ३:५२,

निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेल सिन्धुली बर्दिवास सडक मर्मतको काम सुरु भएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम (ओभरले) र ‘सिङ्गल सर्फेस ट्रेसिङ’ समेत अघि बढेको छ।

चालु आवमा झण्डै १०० किलोमिटर लम्बाइमा मर्मत भइरहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ। यो सडकमा पटके वा नियमित मर्मत गत वर्ष पनि आवश्यकतानुसार भइरहेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए। ‘सडकको तह नै थप्ने गरी र ठूलो क्षेत्रफलमा मर्मतको काम भने यही वर्षदेखि शुरु भएको हो,’ उनले भने।

सरकारले वर्षेनी सडकबाट उठाएको दस्तुरबाट सडक मर्मतका लागि आवश्यक रकम छुट्ट्याउँदै आएको छ । त्यसबाहेक यो वर्ष विश्व बैंकको आर्थिक सहयोगमा समेत मर्मत अघि बढाइएको प्रमुख भाटले बताए।

बिपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डमा पाँच किमी ‘ओभरले’ सकिएको छ । सिन्धुलीको खुर्कोट चियाबारी खण्डमा चालु आवमा ३५ किमी सडक ‘ओभरले’ गर्ने लक्ष्य लिइएको थियो । त्योमध्ये हालसम्म २५ किमी सडक मर्मत सकिएर १० किमी सडकमा काम भइरहेको प्रमुख भाटले जानकारी दिए। १० किमी सडक पनि चैतसम्ममा सक्ने योजना छ।

नेपालथोक खुर्कोट सडकमा चालु आवमा २५ किमी ओभरले गर्ने योजना बनाइएको छ । त्यसमध्ये पाँच किमी सकिएर २० किमी सडक ‘ओभरले’ का लागि ठेक्का भइसकेको छ। अहिले भकुण्डेबेँसी क्षेत्रमा पाँच किमी सडक मर्मतको काम भइरहेको छ।

नेपालथोक–धुलिेखल सडकमा चालु आवमा २० किमी सडक ‘सिङ्गल सर्फेस ट्रेसिङ’ गर्ने योजना बनाइएको थियो । त्योमध्ये अहिलेसम्म मध्ये १० किमी सम्पन्न भइसकेको छ । बाँकी १० किमीमा निर्माण जारी रहेको र चैतसम्ममा सक्ने लक्ष्य आयोजनाको छ। सिन्धुली–बर्दिवास सडकमा पाँच किमी मर्मतका लागि ठेक्का सम्झौता गरिसकेको छ । त्यो सडक पनि चालु आवमा नै सम्पन्न हुने प्रमुख भाटले जानकारी दिए।

सडक हस्तान्तरण सकिएको झण्डै छ वर्षपछि धेरै ठाउँमा एकै पटक मर्मत भइरहेको हो । फरकफरक खण्डमा फरक मितिमा निर्माण सकिएको आयोजनाले जनाएको छ । सबैभन्दा पछिल्लो पटक नेपालथोक–खुर्कोट सडक सम्पन्न भएर हस्तान्तरण भएको हो । त्यसमा पनि यो वर्षदेखि मर्मत शुरु भएको प्रमुख भाटले बताए। उनका अनुसार यो खण्डमा पाँच किमी सडकमा मर्मत सकियो भने २० किमी मर्मतका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भइसकेको छ।

अहिले मर्मत भइरहेको सडकमध्ये नेपालथोक–खुर्कोट खण्डमा मर्मतका लागि वैदेशिक लगानीसमेत रहेको आयोजनाले जनाएको छ । सो सडकमा २० किमी मर्मतका लागि विश्व बैंकले १० करोड र नेपाल सरकारको रु चार करोड ६८ लाख लगानी रहेको छ । बैंकको ‘कोर रोड नेटवर्क’ कार्यक्रममा सो सडकको मर्मत हुन लागेको हो । चालु आवमा ठेक्का सम्झौता भए पनि निर्माणको काम आगामी आवमा मात्रै सम्पन्न हुने प्रमुख भाटले बताए।

सडक निर्माणले एउटा अवधि पार गरेकाले एकै पटक ठूलो क्षेत्रमा मर्मत गरिएको हो। आगामी आवमा झण्डै ४० किमी सडकमा ‘ओभरले’ गर्न आवश्यक रहेको आयोजनाले जनाएको छ।

धुलिखेल बर्दिबास सडकको लम्बाइ १६० किमी छ। चार खण्डमा विभाजित यो सडकको बर्दिवास–सिन्धुलीसम्मको लम्बाइ ३७ किमी, सिन्धुलीबजार–खुर्कोट ३९ किमी, खुर्कोट–नेपालथोक ३२ किमी र नेपालथोक–धुलिखेल ५० किमी छ। यो पूर्वी तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो सडक हो।

जाइकाले सो सडकको एक लेनमा निर्माण गरेको थियो । सरकारले ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि सो सडकमा भने चौडाइ कम भएकै कारण ठूला सवारीसाधनलाई प्रवेश गर्न दिने गरिएको छैन।

यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई यो सडकमा गुड्न रोक लगाएको छ। धुलिखेल–नेपालथोक सडक सन् २००१ मा सम्पन्न भएको थियो भने नेपालथोक–खुर्कोट सडक सन् २०११ मा सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad