समाज


दोभानका आगलागी पीडितलाई सहयोग

दोभानका आगलागी पीडितलाई सहयोग

नेपालखबर
फागुन २७, २०७७ बिहिबार १६:१४,

पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन्।

आज आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा संकलित रु छ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गरेका हुन्। उनले मेरिङदेन गाउँपालिकामार्फत वितरण हुने गरी उक्त गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए।

आगलागीले पु-याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट समेत रु छ लाख सहयोग प्रदान हुने जानकारी दिए। राहत वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसी लगायतको उपस्थिति थियो।

यसैबीच आगलागीबाट पीडित परिवारमध्ये सबैभन्दा गरीब तथा निम्नवर्गको परिवारका एक जना बच्चालाई राजधानीमा नै उच्च शिक्षासम्म निःशुल्क अध्ययनका लागि सहयोग गर्ने नेता बस्नेतले बताए। भूकम्प, बाढी पहिरो, आगलागी जस्ता घटनाबाट पीडित बनेकालाई सहयोग गर्दै आएका नेता बस्नेतले दोभानका आगलागी पीडित परिवारको दिगो व्यवस्थापन तथा पुनःस्थापनामा गम्भीर हुन सरकारसँग आग्रहसमेत गरे।

यता सोही कार्यक्रमका बीच कांग्रेस आबद्ध लोकतान्त्रिक खेलकूद विभागले रु ७५ हजार र इलामको माइभ्याली फुटबल क्लबले रु ५० हजार आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेको छ। दुवै संस्थाले गाउँपालिकामार्फत सहयोग प्रदान गरेका हुन्।

गएको फागुन १८ गते भएको आगलागीले दोभान बजारका ५० घर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित बनेका थिए। विस्थापित परिवार अहिले आगलागी क्षेत्रमा नै टेण्ट टाँगेर बसेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad