संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज (बिहीबार) महाशिवरात्रि एवं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै छ।
यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज कवाजसहितको विशेष समारोह आयोजना गरिँदै छ। जसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन्।
त्यस क्रममा राष्ट्रपतिले नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण गर्नेछिन्।
सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह र मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सब–युनिटले पनि आआफ्ना क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।
नेपाली सेनाले दुई दसकअघिदेखि महाशिवरात्रिका दिनलाई सेना दिवसका रूपमा मनाउने गरेको हो।
सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम हुनेछन्।
समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्यान्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिनेछ।
काठमाडौंमा गत वर्ष ३ हजार ६ सय सेना महाशिवरात्री तथा सेना दिवसका कार्यक्रममा सहभागी भएकामा यस वर्ष कोराना महामारीका कारण २ हजार ४०० सेना मात्र सहभागी हुनेछन्।
राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन हुनेछ। नेपाली सैनिक संगठनको प्रमुख हाल प्रधानसेनापति पूर्णचन्द्र थापा छन्। आकर्षक सैनिक कला फ्रि–फल जम्प र खुकुरी ड्रिल प्रदर्शन गरिनेछ।
सेना दिवसका अवसरमा कल्याणकारी कोषबाट ऋण सहयोग लिइ उत्कृष्ट कार्य गर्ने किसानलाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, उत्कृष्ट उद्यमीलाई प्रधानसेनापति लघुवित्त उद्यमी सम्मान र सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान गर्ने पनि कार्यक्रम छ ।
प्रकृति संरक्षण, युद्धकार्य एवं पेशागत निरीक्षण २०७७ मा उत्कृष्ट नतिजा हासिल गर्ने युनिटलाई मुख्य समारोहपछि प्रधानसेनापतिले ट्रफी तथा पुरस्कार प्रदान गर्नुका साथै पदोन्नति हुनेलाई दज्र्यानी चिह्न तथा वर्षभरी उत्कृष्ट कार्य गर्नेलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिनेछ ।
सेना दिवसका उपलक्ष्यमा जङ्गीअड्डा मातहतका युनिटले दिपावली गर्ने, वीरगति प्राप्तका सम्मानमा वीर स्मारकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण गर्ने, वीरगति प्राप्त सैनिकका एकल महिला तथा घाइते सैनिकलाई आमन्त्रण गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै जिम्मेवारी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, मठ, मन्दिर र इलाका सरसफाइ, रक्तदान, मैत्रीपूर्ण खेलकुद गरिरहेका छन्।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गरेको छ।
वर्तमान सेनाको सांगठनिकस्वरूपको सुरुआत १८१९ सालमा भएको हो। देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकबीच सेना आस्था र विश्वासको अटल छाप छाड्न सफल भएको छ। रासस

प्रतिक्रिया