गाँजा खाँदा भएको रिसइबीका कारण बारामा एक युवाको हत्या भएको छ।
मंगलबार बिहान बाराको निजगढ नगरपालिका ९ स्थित १८ वर्षीय कालु भनिने रोहित शर्माको हत्या भएको हो।
रौतहटको चन्द्रपुर नगरपालिका ४ घर भई बाराको निजगढ ९ बुद्धचोकमा बस्दै आएका शर्माको चक्कु प्रहार गरी हत्या भएको हो।
हत्या गरेर भागेका रौतहटका २९ वर्षीय अरुण कुमार साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। रोहित सोमबार राति घरमा एक्लै बसेका थिए। हत्या गरेर ओछ्यानमै शव छाडेर अरुण भागेका थिए।
घटनाको सूचना प्राप्त हुने बितिकै इलाका प्रहरी कार्यालय निजगढबाट र जिल्ला प्रहरी कार्यालय बाराबाट डीएसपी गौतम मिश्रको कमाण्डमा खटिएको टोलीले अरुणलाई उनकै घरबाटै पक्राउ गरेको हो।
अरूणलाई प्रहरीले चन्द्रनिगाहपुरबाट पक्राउ गरेको डीएसपी मिश्रले बताए।
अरुणले अनुसन्धानको क्रममा आफुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। हत्यामा प्रयोग भएका सामग्री पनि प्रहरीले अरुणले नै देखाएपछि बरामद भएको जनाएको छ।
हत्याका क्रममा प्रयोग गरिएका कपडाहरू उनको चपुरस्थित घरमा र हत्यामा प्रयोग गरिएका चक्कु तथा मोटरसाइकल चपुरस्थित उनको किराना पसलबाट बरामद गरेको हो।
हत्याका क्रममा अरुणको हातमा काटिएको आलो घाउहरू तथा रगत समेत भेटिएको थियो।
प्रारम्भिक सोधपुछको क्रममा अभियुक्त अरूण कुमार साहले मृतकसँग पहिलादेखि नै रिसइबी रहेको, लागूऔषध सेवन गर्ने विषयमा विवाद भइरहने, आफूलाई अपमानित गरेको, पिस्तोलले हानी मारिदिन्छु भनेको कारण उनको हत्या गरेको अरुणले बताएका छन्।
हत्या गर्नकै लागि चक्कु सहित २४ गते राति साढे ९ बजेदेखि नै निज मृतककै घरमा उनीसँगै बसेको र बिहान ४ बजे हत्या गरेको बताएका छन्। हत्या गरेर चपुरस्थित घरमा पुगेपछि अरुणले कपडा बदलेर पसलमा बसेका थिए।
प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया