ad ad

समाज


फेरि नेपालतर्फ सर्दै न्यून चापीय रेखा, बढ्ने भो भारी वर्षा

फेरि नेपालतर्फ सर्दै न्यून चापीय रेखा, बढ्ने भो भारी वर्षा

नेपालखबर
साउन २६, २०७६ आइतबार २:८,

मनसुनी न्यून चापीय रेखा दक्षिण भारतबाट फेरि बिस्तारै उत्तर नेपालतर्फ सर्न थालेकाले भारी वर्षा हुने क्रम बढेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले देशभर मौसम बदली भएको छ भने मध्य क्षेत्रका पहाड र तराई तथा पश्चिम क्षेत्रका पहाडी भेगमा अहिले पानी परिरहेको छ।

देशका १/२ स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ। देशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। जसले गर्दा चुरेबाट बहने नदीमा पानीको कहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरू सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

दिउँसो मौसम केही सुधार भए पनि साँझपख वा राति फेरि बदली भई देशका पहाडी भेगमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए।

‘राति पहाडका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ,’ नेपालखबरसँग उनले भने, ‘बाढीपहिरोबाट सतर्क हुनुपर्ने देखिन्छ।’

यस्तै काठमाडौं उपत्यकामा पनि रातिदेखि पानी पर्ने क्रम जारी छ। बितेको २४ घण्टामा यहाँ १९.४ मिलिमिटर पानी परेको मौसमविद् श्रेष्ठले जानकारी दिए।

आज दिउँसो तथा राति पनि काठमाडौं उपत्यकामा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको उनले बताए।

न्यून चापीय रेखा बिस्तारै नेपालतर्फ सरिरहेकाले अब मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद् श्रेष्ठले बताए। ‘अहिले नै नेपालनजिक आइसकेको त छैन,’ उनले भने, ‘तर बिस्तारै उत्तर सर्दै छ।’

जसका कारण यहाँ मौसम बदली र वर्षा हुने क्रम बढाउने सम्भावना देखिएको उनले बताए।

न्यून चापीय रेखा वर्षा गराउने मनसुनी प्रणाली हो। जुन जति नजिक हुन्छ उति वर्षा हुने क्रम बढ्ने मौसमविद् बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .