ad ad

राजनीति


कस्मिरमा विशाल प्रदर्शन, सुरक्षाकर्मीद्वारा गोलीको वर्षा

कस्मिरमा विशाल प्रदर्शन, सुरक्षाकर्मीद्वारा गोलीको वर्षा

नेपालखबर
साउन २६, २०७६ आइतबार १:५५,

कस्मिरले पाउँदै आएको विशेष राज्यको अधिकार खारेज गर्ने भारत सरकारको निर्णयविरुद्ध कस्मिरमा विशाल प्रदर्शन भएको छ। तनावपूर्ण माहोल तथा सुरक्षाकर्मीको बाक्लो तैनाथीबीच शुक्रबार श्रीनगरको सौरा क्षेत्रमा ठूलो प्रदर्शन भएको हो।

भारतका सरकारी अधिकारीहरुले प्रदर्शन भएको अस्वीकार गरिरहँदा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बीबीसीसहितले प्रदर्शनका भिडियो सार्वजनिक गरेका छन्।

बीबीसी हिन्दीले सार्वजनिक गरेको भिडियोमा ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भएको देखिन्छ। प्रदर्शनकारी दमन गर्न सुरक्षाकर्मीले गोली चलाएका छन्। भिडियोमा फायरिंगको आवाज प्रस्ट सुनिन्छ। सुरक्षाकर्मीको गोलीबाट सयौं मानिस घाइते भएको सञ्चार माध्यमहरूको अनुमान छ।

जम्मु कस्मिर राज्यलाई दिँदै आएको विशेष अधिकार अन्त्य गर्न संविधानको अनुच्छेद ३७० खारेजीको घोषणापछि कस्मिर घाँटीको अवस्था तनाबपूर्ण छ।

शुक्रबार प्रदर्शनकारी तथा सुरक्षाबलबीच दुई ठूला झडप भएका छन्। ती झडपमा कति घाइते भए भन्नेबारे केही जानकारी छैन। सरकारी अधिकारीहरु कस्मिर प्रदर्शनको घटनाका तथ्यहरू लुकाइरहेका छन्।

kashmir protest1श्रीनगरको साैरा क्षेत्रमा भएको प्रदर्शन। त्यहाँ सयाैंको भिडमाथि सुरक्षाकर्मीले गोली चलाएका छन्।

भारतीय गृह मन्त्रालयलका प्रवक्ताले एक ट्विट गर्दै भनेका छन्, ‘रोयटर्ससहित सञ्चार माध्यमले श्रीनगर बिरोध प्रदर्शनमा १० हजार मानिस सहभागी भएको बताएका छन्। यो पूर्ण रुपमा मनगणन्ते तथा गलत समाचार हो। त्यहाँ भएको प्रदर्शनमा २० जना जति सहभागी भएका हुन्।’

शुक्रबार नमाज प्रार्थनाको समयमा धेरै ठाउँमा स्थिति सामान्य थियो। केही स्थानमा ढुंगामुडा भएका समाचार बाहिर आएका थिए। त्यसबीच सैराभन्ने स्थानमा विशाल प्रदर्शन भयो। हजारौं मानिस सडकमा उत्रिए। शान्तिपूर्ण रुपमा भएको त्यो प्रदर्शन सुरक्षाकर्मीले दमन गर्न प्रयास गरे। दुवै पक्षबीच झडप भयो। बीबीसीले सार्वजनिक गरेको भिडियोमा गोली चलेको आवाज सुनिन्छ।

भिडियो:

कस्मिरका केही क्षेत्रमा कर्फ्युको समय छोट्याइएको छ। कर्फ्यु हट्दै गएपछि केही पसल खुलेका छन्। सडकमा फाट्टु फुट्ट गाडी देखिन थालेका छन्। कफ्र्यु १२ अगस्टसम्म जारी रहने सुरक्षा अधिकारीहरुले बताएका छन्।

गत सोमबार भारत सरकारले जम्मु कस्मिरलाई दिँदै आएको विशेष राज्यको अधिकार अन्त्य गरिदिएको थियो। जम्मु कस्मिर राज्यलाई दुई हिस्सा लद्दाख र कस्मिरमा विभाजित गरेको थियो। दुवै क्षेत्रलाई केन्द्र शासित प्रदेशको दर्जा दिइएको छ।

कस्मिरको अधिकार कटौती गर्ने विषय संसदमा छलफल हुनुअघि कस्मिरका राजनीतिक नेताहरुलाई नजरबन्द गरिएको थियो। उनीहरुलाई टेलिफोन तथा इन्टरनेटबाट अलग पारिएको थियो। यी नेताहरुमा कस्मिरका पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती तथा अमर अब्दुल्लाह छन्। यी दुवै नेता अहिले पनि सुरक्षाकर्मीको नियन्त्रणमा छन्।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल आफ्नो पूरै टोलीसहित श्रीनगरमै छन्। उनी कस्मिर प्रकरणका एक जना मुख्य रणनीतिक योजनाकार मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .