ad ad

समाज


ब्रिटिस गोर्खा भर्ती: संख्या घट्यो, प्रतिस्पर्धा बढ्यो (भिडियो रिपोर्ट)


सविन राई
जेठ ३० ,

ब्रिटिस गोर्खामा भर्ती हुने सपना साँचेका नगेन्द्र गुरुङका लागि लाहुरे बन्ने यो वर्ष अन्तिम मौका हो। यस पटक भर्ती नभए उनको वर्षौंको मिहिनेत र लगानी खेर जानेछ। प्रतिस्पर्धाका लागि धरान–पोखरा आउजाउ एवं प्रशिक्षणका लागि उनले हरेक वर्ष एक लाख रुपैयाँभन्दा बढी सिध्याएका छन्।

खोटाङ रावाबेँशी गाउपालिका–६ का बासिन्दा उनी अहिले २० वर्षका भए। आगामी वर्ष २१ वर्ष लाग्ने हुनाले उनले अर्को वर्ष ब्रिटिस गोर्खामा प्रतिस्पर्धा गर्न पाउने छैनन्।

‘म मेरो बाउ बाजेको मान, सम्मान, इज्जतसँगै आफ्नो आमा बुबाको सपना र आफ्नो सपना पूरा गर्न लाहुरे बन्न चाहन्छु’ नगेन्द्र भन्छन्, ‘लाहुरेमा भर्ती भए मैले समाजमा प्रतिष्ठा सँगसँगै राम्रो जीवनयापनका लागि अति आवश्यक पैसा पनि कामाउनेछु तर लाहुरे बन्न सोचेजस्तो सहज छैन।’

नगेन्द्र गुरुङ

‘हजारौंबीच एक सयका लागि प्रतिस्पर्धा हुन्छ। लाहुरे प्रशिक्षण केन्द्रबाट खारिएकाहरु प्रतिस्पर्धामा आउँछन्’, उनी भन्छन्, ‘निरन्तरता, दृढता र समर्पण लाहुरे बन्ने तीन शुत्र हुन्।’

पाँचथरका अनिष चेमजोङ पनि ब्रिटिस गोर्खामा भर्ती हुन तयारी गरिरहेका छन्। १८ वर्षका उनी पहिलो पटक प्रतिस्पर्धामा उत्रँदैछन्। ब्रिटिस लाहुरेले समाजमा पाउने प्रतिष्ठा र पारिश्रमिकका कारण आफू आकर्षित भएको उनी बताउँछन्।

‘कडा मिहिनेत गर्नुपर्ने रहेछ, पसिना निस्किने गरी परिश्रमपूर्वक शरीर बलियो बनाए प्रतिस्पर्धामा काम लाग्ने थाहा पाउँदैछु’, उनी भन्छन्, ‘वेलायती लाहुरे हुनु मेरो आफ्नो मात्र सपना होइन। मेरो बुबाआमाको पनि सपना हो। यसलाई मैले पूरा गर्नैपर्छ।’

नगेन्द्र, अनिषजस्तै हजारौं नेपाली युवा यतिबेला ब्रिटिस गोर्खा र सिंगापुर पुलिसको सपना बोकेर तयारीमा जुटेका छन्। उनीहरु लाहुरे प्रशिक्षण केन्द्रमा भर्ना भएर दिनरात पूर्व तयारीका लागि मिहिनेत गरिरहेका छन्।

भिडियो

सन् २०२० इन्टेकका लागि ब्रिटिस गोर्खा भर्ती खुलेको सूचना प्रकाशित भइसकेको छ। यो वर्ष ब्रिटिस गोर्खाका लागि कम्तिमा ४३२ जना नेपाली युवा भर्ती हुनेछन्। सिंगापुर पुलिसमा १२० नेपाली युवा माग भएको छ। गोर्खा भर्ती प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी हुने दाबी ब्रिटिश सेनाको छ।

संख्या घट्यो, प्रतिस्पर्धा बढ्यो

तथ्यांकमा लाहुरे भिड्नेको संख्या कम हुँदै गएको यो क्षेत्रका अनुभवीहरु बताउँछन्। प्रतिस्पर्धामा भने पहिलाभन्दा तीब्र भएको उनीहरुको भनाइ छ। प्रशिक्षण केन्द्रहरुले भर्ती हुनुभन्दा अगाडि सबै विधामा तयारी गराउँछन्। उस्तै शिक्षा र एकै खालको तयारीका कारण प्रतिस्पर्धा कठिन भएको हो।

‘पहिले प्रशिक्षण केन्द्रहरु थोरै थिए। अहिले ब्रिटिस गोर्खा र सिंगापुर प्रहरीका लागि पर्याप्त प्रशिक्षण केन्द्रहरु छन्’, ग्लोबल गोर्खा ट्रेनिङ एकेडेमीका प्रशिक्षक विशाल गुरुङ भन्छन्,‘सबै युवाको शारीरिक र शैक्षिक ज्ञान उत्तिकै छ। त्यसैले लाहुरे बन्ने प्रतिस्पर्धा अझ प्रतिस्पर्धात्मक भएको छ।’

विशाल आजभन्दा दशवर्ष अगाडि वेलायती सेनामा भर्ती हुन चाहन्थे। सन् २०१० देखि ३ पटक ब्रिटिस गोर्खाका लागि प्रतिस्पर्धामा असफल भएपछि उनी तयारी प्रशिक्षक बनेका हुन्। तयारी प्रशिक्षण दिने यस्ता केन्द्रहरु अहिले काठमाडौंमा ३१ वटा छन्। यी बाहेक पोखरा र धरानमा पनि छन्।

विशालको अनुभवमा दश वर्षयता ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा जान चाहने युवाको संख्यामा कमी आएको छ।

‘सन् २०१० मा वेलायती सेना र सिंगापुर पुलिसका लागि प्रतिस्पर्धा गर्नेहरु २० हजारभन्दा बढी हुन्थे। अहिले त्यति संख्या हुँदैन’, उनी भन्छन्, ‘ब्रिटिश गोर्खामा भर्तीको माग बढे पनि सहभागी युवाको संख्या घटेको हो।’ नेपाली युवाबीच लाहुरे बन्ने मोह भने नघटेको उनको निष्कर्ष छ।

‘पछिल्लो सयम नेपाली युवाका लागि वेलायती सेना र सिंगापुर प्रहरी जत्तिकै तलब र सेवा भएका रोजगारीहरु अन्यत्र पनि सिर्जना भएका छन्। जापान, कोरिया, अष्ट्रेलिया, क्यानडा, अमेरिका जान रुची राख्नेहरु बढ्दै जाँदा लाहुरेमा प्रतिस्पर्धा गर्नेको संख्या कम भएको हुनसक्छ। यो योग्यतामा नेपालभित्रै चाहिँ यतिको तलब सुविधा पाउन मुश्किल छ।’

के चाहिन्छ योग्यता?

ब्रिटिस सेनाले गोर्खा भर्तीका लागि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भए पुग्ने जनाएको छ। नयाँ एसइइ ग्रेडिङ प्रणालीमा न्यूनतम ३ सी र २ डी (अग्रेजी र गणितमा सी ग्रेडिङ अनिवार्य) ग्रेडिङ भएको हुनुपर्छ। उमेर १ जनवरी २०२० सम्म कम्तिमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्नेछ।

उचाई कम्तिमा १५८ सेन्टिमिटर हुनुपर्ने एवं बिएमआई १८–१८ हुनुपर्नेछ। छड्के आँखा भएको वा आँखा ठूलो सानो भएको स्वीकार्य नहुने ब्रिटिस सेनाको सूचनामा उल्लेख छ। यसैगरी चश्मा, कन्ट्याक लेन्स लेजर सर्जरीले मान्यता पाउने छैन।

दाँतमा दुईभन्दा बढी समस्या नभएको हुनुपर्नेछ। अगाडिको दाँत नक्कली, किराले नखाएको, भित्र वा बाहिर निस्केको र नखप्टेको हुनुपर्नेछ।

ब्रिटिश गोर्खामा कार्यरत नेपालीहरुका अनुसार भर्ना हुनासाथ पाउने तलब १ लाख २० हजार रुपैयाँ हुन्छ। सिंगापुर पुलिसको ७५ हजारबाट सुरु हुन्छ। पदोन्नति हुँदै जाँदा यो रकम बढ्दै जान्छ। बिहेपछि परिवारै वेलायत, सिंगापुर लैजान पाउने सुविधा हुन्छ। पेन्सन रकम आकर्षक हुनेगर्छ। विशाल गुरुङ भन्छन्, ‘निम्न र मध्यम वर्गीय नेपाली परिवार एकै पटक उच्च वर्गीयमा रुपान्तरण हुन व्रिटिस गोर्खा भर्ती एउटा गजब अवसर हो।’

जेठ ३०, २०७६ बिहिबार ७:५९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .