समाज


श्रीमती छुटाउन साथीको अपहरण

श्रीमती छुटाउन साथीको अपहरण

नेपालखबर
फागुन १७, २०७७ सोमबार ८:५७,

झण्डै तीन महिना पहिले जेल परेकी श्रीमतीलाई छुटाउन मोरङमा आफ्नै साथीको अपहरण गरेको खुलेको छ।

राजश्व कार्यालय इटहरीले कपडा तस्करी गरेको अभियोगमा मोरङकी मन्जु शर्मालाई कारागार चलान गरेको छ।

अदालतले मागेको १० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि मन्जु अहिले पनि थुनामै छिन्।

तर उनीसँगै पक्राउ परेका सुवास कामतले उनलाई फसाएको भन्दै मन्जुका श्रीमानले सुवासलाई अपहरण गरी बन्धक बनाएको खुलेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

प्रहरीले सुवासलाई शनिबार राति नै सकुशल उद्धार गरिसकेको छ। अपहरण गरी बन्धक बनाएको अभियोगमा तीन जना पक्राउ परिसकेका छन्।

‘सुवासलाई बन्धक बनाएर उनका परिवारबाट १० लाख रुपैयाँ फिरौती लिने र उक्त रकम अदालतमा बुझाएर मन्जुलाई धरौटीमा छुटाउने नियत देखिन्छ,’ एसपी खड्काले भने, ‘सुवासकै कारण आफ्नी श्रीमती फसेको इगो पनि उनमा देखिन्छ।’

करिव तीन महिनापहिले कोशी ब्यारेजमा रहेको इटहरी राजश्व कार्यालयले उनीहरुको गाडी रोकेर चेकजाँच गरेको थियो। कागजपत्र चेक गर्ने क्रममा नक्कली र तस्करी गरेको कपडा फेला परेको थियो। त्यसपछि सुवास र मन्जु पक्राउ परेका थिए।

सोही मुद्दामा उनीहरुसँग १०/१० लाख रुपैयाँ धरौटी माग गरेको भए पनि सुवासले मात्रै १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। मन्जु भने अहिले पनि कारागारमै छन्।

शनिबार साँझ मन्जुका श्रीमान दीपक शर्माले रोहित पण्डितसँग मिलेर अपहरणको योजना बनाएका थिए। त्यही योजनाअनुसार उनीहरुले सुवास कामतलाई पक्राउ गर्नका लागि सुकेन्द्र यादव र अजय यादवलाई ‘कन्ट्याक्ट’मा ल्याए। प्रहरीका अनुसार उनीहरुको सहयोगमा सुवासलाई पक्राउ गरेर दीपकको घरमा बन्धक बनाएका थिए।

सुवासको घरमा बन्धक बनाएर उनीहरुले उनका भाइ विकाससँग १० लाख रुपैयाँ फिरौती लिएर आउन भनेका थिए। तर उनले प्रहरीलाई खबर गरेपछि मोरङ प्रहरीको टोली दुई घण्टापछि घटनास्थलतर्फ गएको थियो।

तर प्रहरी जाँदै गर्दा उनीहरु सुवासलाई मोटरसाइकलमा राखेर भारततर्फ भाग्दै थिए। प्रहरीले घेरा हालेपछि सुवासलाई रामपुरस्थित बाटैमा छाडेर भागेको एसपी खड्काले बताए।

विराटनगर महानगरपालिका–१८ खोक्साका २३ वर्षीय सुवास कामतलाई उनीहरुले शनिबार दिउँसो साढे १ बजेदेखि बन्धक बनाएका थिए।

प्रहरीले विराटनगर–१६ रदैयाका २० वर्षीय रोहितलाई शनिबार राति उनकै घरबाट पक्राउ गरेको थियो।

विराटनगर–१६ का २१ वर्षीय अजय यादव आइतबार बिहान र रामपुरकी २८ वर्षीया सन्ध्या शर्मा आइतबार १० बजेतिर पक्राउ परेको मोरङका डीएसपी मानबहादुर राईले बताए।

घटनामा संलग्न अन्य भने फरार छन्। पक्राउ परेकामाथि अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान भइरहेको डीएसपी राईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad