समाज


२० वर्षीया युवतीलाई ६० हजार डलरको चिठ्ठाको लोभ, साढे सात लाख गुमेपछि खुले आँखा

२० वर्षीया युवतीलाई ६० हजार डलरको चिठ्ठाको लोभ, साढे सात लाख गुमेपछि खुले आँखा

नेपालखबर
फागुन ५, २०७७ बुधबार १:४६,

गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन्।

लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, ‘मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु’।

त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी हुन्छ। त्यस क्रममा ती व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाउँछन् । उक्त सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राख्छन्।

अब भने चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा परेकी २० वर्षीया बुढामगरको ठगिने शृङ्खला शुरु हुन्छ । आइएमई र आइपिएस कनेक्टमार्फत उनले रकम पठाउन सुरु गर्छिन्। पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले ५६ हजार पठाउँछिन्।

असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैङ्कको खातामा तीन लाख ५५ हजार जम्मा गर्छिन्।

पटकपटक गरी बुढामगरले सात लाख ६१ हजार बुझाउँछिन्। तर चिठ्ठाको रकम र ल्यापटप भने हात पर्दैन। प्रलोभन देखाएर ठग्नेहरु भने अझै रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहन्छन् । भनेजति पैसा पठाउँदा र लामो समय बित्दासमेत चिठ्ठा र सामान नपाएपछि आफू ठगिएको महसुस बुढामगरलाई हुन्छ।

उनले कात्तिक ३ गते प्रहरीमा जाहेरी दिन्छिन्। प्रहरीले अनुसन्धान थाल्छ । उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा छ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गर्छ। यसरी फेसबुक र ह्वाट्सएपमार्फत अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा पर्छन् । पीडित बुढामगरमा न्यायको आश जाग्छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार उक्त सङ्गठित ठगीको घटनाका आरोपितलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका–३ का २२ वर्षीय सन्तोष श्रेष्ठ छन्।

यस्तै झापाको गौरदह नगरपालिका–५ का २९ वर्षीया मिलन क्षत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडौँ महानगरपालिका–१६ वसन्तुपर गुम्बामा बस्ने पाकिस्तानी नागरिक फक्राउ परेका छन्।

सम्बन्धित जिल्लामा रहेका प्रहरी कार्यालय÷एकाइसँगको समन्वयमा खोजतलास गरी प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । विदेशी नागरिकसमेतको संलग्नतामा तीनभन्दा बढी व्यक्ति मिलेर ठगी गरेकाले सङ्गठित अपराधको मुद्दा चलाई अनुसन्धान थालिएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

पक्राउ परेकासँग लिइएको बयानका क्रममा उक्त सङ्गठित ठगीको घटनामा थप चार जना संलग्न रहेको पाइएको र उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। ‘फरारमध्ये दुई जना मलेशिया र दुई जना भारतमा रहेको बुझिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ,’ श्रेष्ठले भने।

सङ्गठित ठगीको कसुर प्रमाणित भएमा न्यूनतम पाँच वर्षसम्म कैद हुनसक्छ। पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना बढेको भन्दै प्रउ श्रेष्ठले आम नागरिक सचेत हुन जरुरी रहेको बताए। त्यस्ता कुनै शङ्कास्पद घटना भएमा तुरुन्त प्रहरीकहाँ आउन पनि श्रेष्ठले आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad