भारतको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण निको हुने दर विश्वमै सबैभन्दा बढी आफ्नो देशमा रहेको दाबी गरेको छ।
भारतमा कोरोना संक्रमण निको हुने दर विश्वकै उच्च रहेको कुरा आफूले भनेको नभई तथ्यांकले नै पुष्टि गरेको आइतबार त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दाबी गरेको हो।
यस्तै आफ्नो देशले कोरोना महामारीविरुद्धको खोप विश्वका अन्य मुलुकलाई समेत उपलब्ध गराइरहेको मन्त्रालयले जनाएको छ।
भारतका विदेशमन्त्री जयशंकरले आइतबार ट्विट गर्दै भारतमा बनेको खोप मेक्सिकोसम्म पुगेको जानकारी दिएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार २०२० अक्टोबर १ देखि भारतमा कोरोनाबाट हुने दैनिक मृत्युदर लगातार घटिरहेको छ भने संक्रमित सञ्चो हुने दर विश्वमै सबैभन्दा बढी भएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०२० अक्टोबर १ यता देशमा मृत्यु (कोरोनाबाट हुने) दर निकै कम भएको छ। आइतबार मृत्युदर १.५ (१.४३ प्रतिशत) भन्दा कम दर्ता भएको छ। यो मृत्युदर विश्वमै कम हो।’
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ११ हजार १६ संक्रमित निको भएको जानकारी दिएको छ। योसँगै देशभर कोरोना संक्रमण निको हुनेको कूल संख्या १ करोड ६ लाख ११ हजार ७ सय ३१ पुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्रालयले भनेको छ- ‘भारतमा कोरोना संक्रमण निको हुने दर ९७.३१ प्रतिशत छ, जुन विश्वमै सबैभन्दा बढी हो।’

प्रतिक्रिया