ad ad

समाज


भागरथी हत्या अनुसन्धानः आपराधिक पृष्ठभूमि भएकादेखि भारत गएकासम्म निगरानीमा

भागरथी हत्या अनुसन्धानः आपराधिक पृष्ठभूमि भएकादेखि भारत गएकासम्म निगरानीमा

उजिर कार्की
माघ २७, २०७७ मंगलबार १५:२१,

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको एक साता पुगेको छ। प्रहरीले अहिलेसम्म दोषी पक्रिन सकेको छैन।

घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत बुधबार दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्ट विद्यालयबाट फर्किने क्रममै बेपत्ता भएकी थिइन्। बिहीबार साँझ घर नजिकैको लवलेक सामुदायिक वनमा उनको शव फेला परेको थियो।

उक्त घटनाको अनुसन्धानका लागि प्रहरीका विभिन्न युनिट खटिएका छन्। सूदुरपश्चिम प्रहरीले एसएसपीको नेतृत्वमा एउटा टोली घटनास्थलमा पठाएको छ। जिल्लाबाट डीएसपीको कमान्डमा टोली घटनास्थलमा छ भने कन्चनपुरमा रहेको सीआईबीका डीएसपी नेतृत्वको टोली पनि अहिले बैतडी पुगेर अनुसन्धानमा सघाइरहेको सूदुरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए।

सूदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी पनि तीन दिनदेखि घटनास्थलमै छन्।

स्थानीयको चर्को दबाबका बीच जतिसक्दो छिटो घटनालाई टुंगोमा पुर्‍याउने गरी काम गरिरहेको दाबी प्रहरीले गरेको छ।

पोस्टमार्टम रिपोर्टबाट किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएसँगै हत्यारा पत्ता लगाउने दबाब प्रहरीलाई छ। प्रहरीले किशोरीको फेसबुक र मोबाइलफोनको अनुसन्धान गरेर उनको सम्पर्कमा देखिएका व्यक्तिलाई बोलाएर सोधपुछ सुरु गरेको छ।

एक सातायता घर छाडेका र भारत प्रवेश गरेका व्यक्तिको पनि तथ्यांक संकलन गरेर प्रहरीले अनुसन्धान गरिरहेको श्रोतले जानकारी दिएको छ।

यस्तै उनका आफन्त तथा नजिकका साथीभाइसँग पनि सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनापछि घर छाडेका व्यक्तिदेखि भारत गएका व्यक्तिमाथि पनि प्रहरीले निगरानी बढाएको छ।

घटना भएको दिन त्यो बाटो प्रयोग गरेका व्यक्तिबारे पनि अनुसन्धान तथा सोधखोज भइरहेको प्रहरीले बताएको छ। अपराधिक पृष्ठभूमिका व्यक्तिमाथि पनि निगरानी बढाइएको छ। उनीहरुको पनि ‘ट्राभल हिस्ट्री’ प्रहरीले खोजिरहेको छ।

अढाई वर्ष पहिले कन्चनपुरकी किशोरी निर्मला पन्तको जस्तै अनुसन्धान नगिजोलियोस् भनेर यो घटनामा सचेत रहेको प्रहरी बताउँछ।

‘यो घटना अनुसन्धानका लागि धेरै ‘क्लु’ छन्, तर पुष्टि भएर पक्राउ नपरेसम्म हामी बोल्न मिल्दैन,’ एसएसपी सिंहले भने, ‘यो घटनामा धेरै ढिला हुँदैन, चाँडै टुँगिन्छ। अहिले सबै पाटोबाट काम भइरहेको छ।’

परिवार तथा आफन्तले भने घटनाको सत्यतथ्य पत्ता लगाएर पीडकलाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने बताएका छन्। किशोरीको शव जिल्ला अस्पतालको शव गृहमै राखिएको छ।

यो पनि: 
गोली हानेर छोरीको हत्या गरी फरार महरा चार दिनपछि समातिए

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

बैतडीमा बाबुले किन हाने आफ्नै छोरीलाई गोली?

गोली हानेर छोरीको हत्या गर्ने महराले गाउँमा मच्चाए आतंक, मध्यराति आफ्नै घरमा आगजनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .