ad ad

समाज


छोरीलाई गोली हानेर भागे, राति आएर आफ्नै घर जलाए, त्यसपछि कता गए?

छोरीलाई गोली हानेर भागे, राति आएर आफ्नै घर जलाए, त्यसपछि कता गए?

गोकुल जोशी
माघ २७, २०७७ मंगलबार ४:२७,

यही माघ २४ गते शनिबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–३, विजयपुरका धनबहादुर महराले आफ्नै छोरीलाई गोली हानेर मारे। पुर्चौडी नगरपालिकाकै वडा नम्बर, ३ जोग्गौडास्थित आफ्नो घरबाट माइत आएकी २० वर्षीया छोरी बेलमती महराको हत्या गरेका ६५ वर्षीय महरा फरार छन्।

चार दिन बितिसक्दा पनि प्रहरीले धनबहादुरलाई भेट्टाउन सकेको छैन। प्रहरीका अनुसार बहुविवाह गरेका धनबहादुर र उनकी कान्छी पत्नीबीच झगडा हुँदा छुट्याउन अघि सरेकी विवाहित छोरी बेलमतीलाई उनले भरुवा बन्दुकबाट गोली हानेका हुन्। घटनालगत्तै घरनजिकैको जंगल छिरेका उनलाई प्रहरी अहिलेसम्म पक्राउ गर्न नसकेको हो।

धनबहादुर पक्रन प्रहरीले घटनाकै दिनदेखि ‘सर्च अप्रेसन’ जारी राखेको छ। तर अहिलेसम्म उनलाई फेला पार्न नसकिएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए।

‘हामी संयमित भएर अपराधीको खोजीमा जुटेका छौं। तर अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन,’ उनले नेपालखबरसँग भने, ‘घरनजिकै जंगल भएकाले त्यतातिर भागेको आशंकामा त्यहाँ हाम्रो अप्रेसन जारी छ। स्थानीयले पनि खोजतलासमा साथ दिएका छन्।’

गोली लोड गरिएको भरुवा बन्दुकसहित फरार धनबहादुरले छोरीको हत्यापछि पनि शनिबार राति गाउँमा आतंक मच्चाएका थिए। आफ्नै घरमा आगजनी गर्नाका साथै उनले बन्दुक देखाउँदै स्थानीयलाई धम्क्याएका थिए।

पुर्चौडी नगरपालिका–१० का वडाध्यक्ष जितबहादुर विष्टका अनुसार त्यसपछि धनबहादुर देखापरेका छैनन्।
‘धनबहादुरको खोजी गाउँले पनि लागेका छन्। प्रहरी पनि सक्रिय छ,’ उनले नेपालखबरसँग भने, ‘तर अहिलेसम्म फेला परेका छैनन्।’

फरार उनको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन्। बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशशरण भट्टको नेतृत्वको टोलीसँगै इलाका प्रहरी कार्यालय पाटन र पुरघाट प्रहरी चौकीका टोली पनि अभियुक्तको खोजीमा जुटेका छन्।

घटनास्थल पुरघाट प्रहरी चौकीबाट करिब ५ घण्टाको पैदल दूरीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .