समाज


बिहारमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, प्रहरी नै संलग्न

बिहारमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, प्रहरी नै संलग्न

नेपालखबर
माघ २६, २०७७ सोमबार १:२८,

भारतको बिहार राज्यमा पर्ने चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ।

हत्यापछि उनको शव प्रहरीकै मिलेमतोमा जबर्जस्ती जलाइएको संकेत पाइएको बीबीसी हिन्दीले जनाएको छ।

बीबीसी हिन्दीका अनुसार प्रारम्भिक अनुसन्धान र भाइरल अडियोबाट घटनामा स्थानीय प्रहरी थानाकै थानाध्यक्षको मिलेमतो रहेको प्रमाण भेटिएको हो।

एसपी नवीनचन्द्र झाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘जुन अडियो भाइरल भइरहेको छ, त्यसबाट स्पष्ट हुन्छ कि थानाध्यक्ष सञ्जीव कुमार रञ्जनको लापरबाही र कर्तव्यहीनता जिम्मेवार छ। उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा उनीविरुद्ध एफआरआई (उजुरी) दर्ता गरिएको छ।’

यस्तो छ घटना
नेपालको बर्दिया जिल्लामा पर्ने बारबर्दिया नगरपालिकामा बस्ने सुरेश (परिवर्तित नाम) पछिल्लो एक वर्षदेखि भारतको मोतिहारीमा मजदुरी गरिहेका छन्।

सुरेशका अनुसार यो घटना यही जनवरी २१ मा भएको हो। जतिबेला उनकी श्रीमती नेपालको आफ्नो घर आएकी थिइन् भने उनी (सुरेश) मजदुरी गर्न गएका थिए। छोरा पनि बजार गएका थिए।

पूर्वीचम्पारणको सिकहना, अनुमण्डल पदाधिकारीलाई सुरेशले दिएको उजुरीअनुसार साँझ करिब ४ बजे जब उनका छोरा बजारबाट कोठामा फर्किए तब उनका घर मालिक सियाराम साहले उनलाई रोके।

निवेदनमा उनले भनेका छन्- मेरो छोरा उनको कुरा नमानी कोठामा जाँदा बहिनीलाई भुइँमा घाइते अवस्थामा लडिरहेको देखे। यो देखेर छोराले मलाई बोलायो। छोरीको घाँटीमा रातो दाग पनि देखेँ। मैले छोरीलाई उपचारका लागि स्थानीय चिकित्सककोमा लिएर गएँ तर कसैले पनि उपचार गरेनन्।

त्यसपछि थुप्रै मानिस (अभियुक्त) जम्मा भएर सुरेशलाई छोरीको शवलाई जलाउन दबाब दिन थाले।

उजुरीमा उनले भनेका छन्, ‘देवेन्द्रकुमार साहले शव चाँडै जलाउन दबाब दिए र अन्यथा म र मेरो छोराको हत्या गरेर नेपालमा फ्याँकिदिने धम्की दिए। त्यसपछि एउटा सादा कागजमा मेरो औंठाछाप पनि लिइयो र राती १२ बजे बलपूर्वक पोखर रोडको सडक किनारामा नुन र चिनी हालेर शव जलाइदिए। बिहान भएलगत्तै मलाई नेपाल लखेटे।’

हत्याको १२ दिनपछि उजुरी दर्ता
जनवरी २१ मा भएको बलात्कार/हत्याविरुद्ध फेब्रअुरी २ मा एफआरआई (उजुरी) दर्ता गरिएको हो।

जम्मा ११ जनालाई अभियुक्त बनाइएको छ जसमध्ये ४ जना विनय साह, दीपककुमार साह, रमेश साह, देवेन्द्रकुमार साहविरुद्ध बलात्कार र हत्या अभियोग लगाइएको छ। यस्तै सात जना (जसमा घर मालिक सियाराम साह पनि पर्छन्) विरुद्ध शव जबर्जस्ती जलाएर प्रमाण मेट्ने प्रयास गरेको आरोप छ।

एफआईआर दर्ता भएको ३ दिनपछि फेब्रुअरी ५ मा एउटा अडियो भाइरल भयो, जसमा जनवरी २१ मा कुण्डवा चैनपुरका थानाध्याक्ष सञ्जीवकुमार रञ्जन र एक अभियुक्त रमेश साहबीच कुराकानी भएको छ। त्यसमा थानाध्यक्ष सञ्जीवकुमारले अभियक्त रमेश साहसँग भनिरहेका छन्, ‘बालिकाको व्यवस्था गरिदेऊ र लेखिदेऊ कि बालिका चिसोका कारण मरी।’

एसपी नवीनचन्द्र झाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘दुई अभियुक्त पक्राउ परेका छन् र अन्य अभियुक्त खोजीका लागि प्रहरी टोली खटाइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad