ad ad

समाज


पोखरा खानेपानी सुधार आयोजनाको काम धमाधम

पोखरा खानेपानी सुधार आयोजनाको काम धमाधम

नेपालखबर
माघ २४, २०७७ शनिबार ५:९,

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु पाँच अर्ब अनुदान सहयोगमा पोखरामा लगानीका हिसाबले देशकै दोस्रो ठूलो सो आयोजना बन्दाबन्दीपछि रोकिएकामा हाल कामले पुनः तीव्रता पाएको हो।

कोरोनापछिको दुई महिनामा पाँच प्रतिशत हाराहारीमा प्रगति भएको खानेपानी संस्थानले जनाएको छ। कोरोनाअघि २६ प्रतिशत हाराहारीमा प्रगति भएको आयोजनाको मंसिर र पुस महिनामा पाँच प्रतिशत भौतिक प्रगति बढेर ३१ प्रतिशत पुगेको हो।

आयोजना सम्पन्न गर्न अब छ महिना समय बाँकी रहँदा दुई तिहाइ हाराहारीमा काम बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गर्न कठिन देखिएको छ। पछिल्लो समय आयोजना निर्माण तीव्रताका साथ अघि बढे पनि निर्धारित समयमा पूरा गर्न कठिन देखिएकाले आयोजनाको म्याद थपको प्रक्रिया अघि बढेको आयोजना स्रोतले जनाएको छ।

यसअघि बन्दाबन्दी तथा निर्माण कम्पनीका प्राविधिक कर्मचारी लामो समय नेपाल आउन नसक्दा काम पूर्ण क्षमतामा शुरु हुन सकेको थिएन। आयोजना निर्माणका लागि सन् २०२१ अगस्टभित्रमा सम्पन्न गर्ने गरी जापनिज कम्पनी हाज्मा एण्ड कर्पोरेशनसँग निर्माण सम्झौता भएको थियो। सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो। सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर काम शुरु भएको थियो।

पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन उपभोक्ताका घरघरमा पठाउने गरिएकामा मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउनेयोग्य बनाउने लक्ष्यसहित जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले सो आयोजना सञ्चालन गरेको हो।

कोरोनाका कारण गत भदौसम्म आयोजना पूर्णरुपमा ठप्प थियो। भदौदेखि आंशिक काम शुरु भए पनि तिहारलगत्तै पूर्ण क्षमतामा काम शुरु भएको आयोजनाका डेपुटी परियोजना प्रबन्धक एवं खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख आशिष कार्कीले बताए। उनका अनुसार मर्दी मुहानमा ग्रिड च्याम्बर र सेडिमेन्टेशन ट्यांकी, स्लो स्यान्ड फिल्टर, तीनवटै ठूला रिजर्भवायर ट्यांकी निर्माण र पोखरा बजारभित्र पाइपलाइन विस्तारको काम एकैपटक तीव्रताका साथ भइरहेको छ। हाल आयोजनामा ४०० मजदूरले काम गरिरहेको बताइन्छ।

‘कोरोनाका कारण आयोजनालाई असर पारेकाले काम तीवरुपमा अघि बढाएर लक्ष्य भेट्टाउने गरी अहिले काम भइरहेको छ’, डेपुटी परियोजना प्रवन्धक कार्कीले भने, ‘हाल काममा कुनै व्यवधान र समस्या छैन। तोकिएको समयसीमा भित्रमा आयोजना सम्पन्न गर्ने कुरामा प्रतिवद्ध छौँ।’ आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सैँ घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलव्ध हुने खानेपानी संस्थानले जनाएको छ। पोखरा महानगरको १९ वडाका चार लाख पाँच हजार ८८९ जनसंख्या आयोजनाबाट लाभान्वित हुने अनुमान छ।

खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा शुद्ध बनाएर त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्यांकीमा जडान गरिनेछ। पानी शुद्ध बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेशन ट्यांकी’(ढुँगा, बालुवा हटाउने पोखरी) बनिरहेका छन्।

सेडिमेन्टेसन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पोखरा–१९ पुरुनचौरमा निर्माणाधीन ‘स्लोस स्याण्ड फिल्टर’मा लगिनेछ। त्यहाँ पानी थप प्रशोधनका लागि चार वटा पानी थिग्ग्राउने ट्यांकी तथा छ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी संकलन गर्ने ट्यांकी (स्लोस स्यान्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ।

पोखरा बजार क्षेत्रभित्र शुद्ध पानी वितरणका लागि आयोजनाअन्तर्गत फूलबारी, कोलपाटन र पस्र्याङमा २० लाख लिटर क्षमताका रिजर्भवायर ट्यांकी निर्माण भइरहेको खानेपानी संस्थानका इञ्जिनियर सन्तोषकुमार दासले जानकारी दिए। फूलबारीमा निर्माणाधीन ट्यांकीको ९५, कोलपाटनको ६० र पस्र्याङको ४० प्रतिशत हाराहारीमा भौतिक प्रगति छ।

आयोजनाले बजार क्षेत्रमा पाइपलाइन विस्तारलाई तीव्रता दिएर कामअघि बढाएको छ। विगतमा चार समूहबाट काम भइरहेकाले हाल १० वटा टोलीले नदीपुर, नयाँबजार, महेन्द्रपुल, सिर्जनाचोकलगायतका क्षेत्रमा पाइप जडानको काम गरिरहेको इञ्जिनियर दासले जानकारी दिए। बजार क्षेत्रमा ९९ किमी पाइपलाइन सुधार आयोजनाबाट र १४ किमी खानेपानी संस्थानले विस्तार गर्नेछ। संस्थानबाट विस्तार कार्यका लागि बोलपत्र भएर निर्माण कम्पनी छनोटको तयारी गरिएको बताइन्छ। संस्थानले थप सात हजार ३०० धारा जडान गर्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .