समाज


८० वर्षमा पनि २० वर्षे युवामा जस्तो ‘इम्युनिटी’ यसरी बढाउन सकिन्छ : अनुसन्धान

८० वर्षमा पनि २० वर्षे युवामा जस्तो ‘इम्युनिटी’ यसरी बढाउन सकिन्छ : अनुसन्धान

नेपालखबर
माघ १७, २०७७ शनिबार ०:३४,

कोरोना संक्रमण फैलिरहेको यो बेला रोगप्रतिरोधी शक्ति (इम्युनिटी) बारे लगातार चर्चा भइरहेको छ। शरीरमा जब कुनै भाइरस प्रवेश गर्छ तब इम्युनिटीले त्यसविरुद्ध लड्छ।

खुसीको कुरा के छ भने तपाईं आफ्नो इम्युनिटी पावर बलियो बनाउन सक्नु हुन्छ।

सामान्यतया उमेर बढ्दै जाँदा इम्युनिटी पावर पनि घट्दै जान्छ। तर लन्डनको किङ्स कलेजमा ८० वर्षभन्दा बढी उमेरका १२५ जना साइकिलिस्ट (साइकल चलाउने) मा गरिएको अनुसन्धानले यस उमेरमा पनि नियमित कसरत गरेर इम्युनिटी २० वर्षे युवाको जस्तो बनाउन सकिन्छ भन्ने तथ्य पुष्टि भएको छ।

खोप र स्वास्थ्य प्रणालीसम्बन्धी विशेषज्ञ डा. चन्द्रकान्त लहारिया बताउँदै छन्- इम्युनिटीबारे विशेष ४ कुरा :

१. इम्युनिटी दुई किसिमका : जन्मजात र खोपवाला
इम्युनिटी त्यो क्षमता हो, जसले शरीरको भित्री र बाहिरी भागमा देखापर्ने हानिकारक तत्व र सूक्ष्म जीवको पहिचान गर्छ र त्यसलाई नष्ट गर्न शरीरलाई शक्ति दिन्छ।

इम्युन सिस्टमले शरीरमा एन्टिबडी र खास प्रकारको टी सेल्स निर्माण गर्छ। शरीरका यी विभिन्न अंग जस्तो ः थायमस, स्प्लिन, लिम्फनोड्स र बोनमेरो मिलेर काम गर्छन्।

इम्युनिटी दुई प्रकारका हुन्छन्। पहिलो : प्राकृतिक इम्युनिटी। जुन जन्मजात हुन्छ। हरेक स्थितिमा एउटै तरिकाले काम गर्छ। दोस्रो : एडोप्टिभ। यसले खास ब्याक्टेरिया वा भाइरस नष्ट गर्ने काम गर्छ। खोप लगाएपछि यही किसिमिको इम्युनिटी विकास हुन्छ।

२. इम्युनिटीमा मौसमको असर पर्दैन
इम्युनिटी शरीरको भित्र हुन्छ। जसमा बाहिरी कारण जस्तो : मौसम परिवर्तनको असर पर्दैन। तर मौसमले कुनै पनि किसिमको मानव स्वास्थ्यलाई असर पार्छ। जस्तो : चिसो मौसममा कम तापक्रममा केही भाइरस मानिसमा फैलिन्छ। साथै चिसोमा मानिस एकअर्कासँग निकै नजिक रहन्छन्, जसले गर्दा भाइरस फैलिने खतरा हुन्छ।

३. धेरै चिनी, कम निद्रा : इम्युनिटी कमजोर
निदाएका बेला इम्युन सिस्टमले साइटोकाइन भन्ने प्रोटिन रिलिज गर्छ। त्यसैले निद्रा कम भयो भने साइटोकाइन बन्ने प्रक्रियामा असर पर्छ। व्यायामले एन्टिबडी र सेतो रक्त कोषिकामा परिवर्तन ल्याउँछ। सेतो रक्तकोषिकाले रोगसँग लड्ने काम गर्छ। यसले सजिलै रोग पहिचान गर्छ। बिरामी हुने खतरासमेत कम गराउँछ। कम निद्रा, अधिक चिन्ता र तनाव, भोजनमा धेरै चिल्लो र चिनी, धूमपान तथा केही औषधि जस्तो : स्टेरोइडले इम्युनिटी कमजोर बनाउन सक्छन्।

४. कमजोर इम्युनिटी अर्थात् रोगसँग लामो संघर्ष
कमजोर इम्युनिटीको सीधा अर्थ हो– मानिसलाई भाइरस वा ब्याक्टेरियाबाट बचाउन शरीरलाई निकै संघर्ष गर्न पर्नु। त्यस्ता मानिस बिरामी हुन्छन् र निको हुन धेरै समय लाग्छ। बलियो प्रतिरोधी शक्ति (इम्युनिटी) भएका मानिसको तुलनामा यस्ता मानिसलाई संक्रमण हुँदा गम्भीर लक्षण देखापर्छन्। धेरै रोग यस्ता छन्, जसले मानिसको इम्युनिटी कमजोर बनाइदिन्छन्, त्यस्ता मानिसलाई अन्य रोग लाग्ने जोखिम पनि ज्यादा हुन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad