छापा खबर


कर्णालीमा ढुवानी गर्न प्रतिकिलो ११४ रुपैयाँसम्म सरकारी खर्च, तर जनताको भागमा कुहिएको चामल

कर्णालीमा ढुवानी गर्न प्रतिकिलो ११४ रुपैयाँसम्म सरकारी खर्च, तर जनताको भागमा कुहिएको चामल

नेपालखबर
माघ १७, २०७७ शनिबार ०:०,

हुम्लाको सर्केगाड गाउँपालिका– १ जैरका दिलबहादुर कार्की घरमा खाद्यान्न सकिएपछि दुई घन्टा हिँडेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बालुकुना डिपोमा गए । डिपोमा कुहिएर कालै भएको चामल मात्रै थियो ।

घरमा अन्नको गेडासमेत थिएन, त्यसैले कुहिएकै चामलबाट छानेर एक बोरा किनेर फर्किए । ‘चामल हेर्दै गाईभैँसीलाई खुवाउने जस्तो थियो, तर के गर्नु नकिनिनहुने बाध्यता थियो । ‘एक बोरा चामलको एक हजार पाँच सय तिरेर दुई घन्टा उकालो हिँडेर घर फर्किएँ,’ उनले सुनाए ।

जैर क्षेत्रकै धनगडी बमले पनि केही दिनअघि यही डिपोबाट चामल किनेर लगेका थिए । घर पुगेर बोरा खोलेर हेर्दा कुहिएको चामल डल्ला र घुन परेको थियो । ‘पिठ्युँमा बोरा बोकेर दुई घन्टा हिँड्दै बल्लबल्ल घर पु¥याएको थिएँ, खोलेर हेर्दा डल्ला र घुन परेको मात्रै थियो । फेरि बोकेर दुई घन्टा हिँड्नुपर्ने दुःखले डिपोमा लगिनँ, गाईभैँसीलाई खुवाएँ,’ उनले भने ।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

हुम्लाको सर्केगाड गाउँपालिकाका यी दुई घटना कर्णालीका अधिकांश नागरिकका साझा पीडा हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको उदासीनता तथा चामल ढुवानी गर्ने ठेकेदारको चरम लापरबाहीका कारण कतिपय जिल्लामा एक–डेढ वर्षदेखि चामल नै पुगेको छैन, पुगेका ठाउँमा पनि कुहिएर खानै नमिल्ने चामल छ । नागरिकले पैसा तिरेर पनि सद्दे चामल खान पाउँदैनन्।

गुणस्तरीय चामल नपाउने सर्वसाधारणलाई ठेकेदारले मूल्यमा समेत ठग्ने गर्छन् । जिल्लास्थित खाद्य डिपो र बिक्री केन्द्रहरूमा खाद्यका कर्मचारीहरूले चामल बिक्री गर्नुपर्ने हो । तर, कर्मचारी अभाव रहेको बहानामा कतिपय ठाउँमा खाद्यले ढुवानीको ठेक्का लिएको ठेकेदारलाई नै बिक्री गर्ने जिम्मा पनि दिएका छन्।

ठेकेदारले तोकिएभन्दा बढी मूल्यमा चामल बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । बिक्री सक्ना साथ ठेकेदार वा उनका कर्मचारी फर्किन्छन्, त्यसैले चामलको गुणस्तरबारे ग्रामीण भेगका जनताले गुनासोसमेत गर्न पाउँदैनन्। सरकारले यो वर्ष हुम्लामा दुई हजार आठ सय ७५ टन चामल ढुवानी गर्न २५ करोड ८५ हजार छुट्याएको छ।

सिमकोट शाखामा नेपालगन्जबाट हवाईजहाजमा चामल ढुवानी गरेको प्रतिकेजी एक सय १४ रुपैयाँ ८० पैसा र सुर्खेतबाट प्रतिकेजी एक सय १२ रुपैयाँ ८० पैसा लाग्छ । त्यस्तै, सडकमार्गबाट उत्तरी नाम्खा गाउँपालिकाको यालुवाङ बिक्रीसम्म पुग्दा प्रतिक्विन्टल चार हजार ६ सय ३३ रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको छ । तर, त्यति महँगोमा ढुवानी गरेको चामलसमेत गुणस्तरहीन हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad