समाज


नेपाली सेनाको ‘अपरेशन महा-हण्ट’ : डेढ महिनामा ३६ हजार कारबाही

नेपाली सेनाको ‘अपरेशन महा-हण्ट’ : डेढ महिनामा ३६ हजार कारबाही

नेपालखबर
माघ १६, २०७७ शुक्रबार १०:४७,

नेपाली सेनाले प्रकृति संरक्षणका लागि सञ्चालन गरेको अभियान ‘अपरेसन महा-हण्ट’ कार्यक्रम अन्तर्गत ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको जनाएको छ।

महाहन्टको सातौँ संस्करण शुरु भएको पछिल्लो डेढ महिनामा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट, स्वीपलगायत गरी कूल ३६ हजार २८७ सुरक्षात्मक कारबाही सञ्चालन गरिएको हो।

यस अवधिमा गैंडा र बाघको चोरी शिकारी, व्यापार एवं अखेटोपहार ओसारपसारमा संलग्न रहेको आरोपमा ८ जना र काठ तस्करीमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाएको छ।

निकुञ्ज र आरक्षभित्र अवैधरूपमा प्रवेश गरी माछा मार्ने, घाँस दाउरा, तथा बालुवालगायत खनिज पदार्थ संकलन कार्यमा संलग्न ९३९ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारबाहीका लागि निकुञ्ज तथा आरक्ष कार्यालयमा बुझाइएको छ।

यस अवधिमा चोरी शिकारीमा प्रयोग भएको ६ नाल भरुवा बन्दुक लगायतका सामग्री बरामद गरिएको छ भने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट स्थानीय जनप्रतिनिधिको सहयोगमा २५ नाल भरुवा बन्दुक निकुञ्ज कार्यालयमा बुझाएको छ।

नेपाली सेना प्रकृति संरक्षणमा ४ दशकभन्दा लामो समयदेखि निरन्तर खटिरहेको छ। राष्ट्रिय सुरक्षाको धरोहर नेपाली सेनाले वातावरण सन्तुलनको आधार स्तम्भको रूपमा रहेको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। जैविक विविधता संरक्षणभित्र वन्यजन्तु संरक्षणको महत्वपूर्ण भूमिका हुन्छ।

सेनाले मुलुकमा विद्यमान १२ राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाले थालेको चोरीशिकारी तथा अवैध गतिविधि नियन्त्रणको उद्देश्यसहित सञ्चालित अपरेसन महाहन्ट प्रभावकारी बन्दै गएको सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad