प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ।
पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ।
बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।
स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने धार्मिक विश्वास छ । रोग ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश अहिलेको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।
यसैबीच आजदेखि काठमाडौंको साँखुमा रहेको शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु भएको छ। प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने श्रेष्ठले बताए।
व्रतालुका लागि साँखुमा रहेको शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठले जानकारी दिए। यस वर्ष माघ १५ गतेदेखि फागुन १५ गतेसम्म शालीनदीमा मेला लाग्दै छ।
विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेका थिए। यस वर्ष भने ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितार्थ राख्ने समितिले जनाएको छ। महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भएका छन्। विगत वर्षमा जस्तो मेला भने यसपटक नलाग्ने समितिले जनाएको छ।

प्रतिक्रिया