नेपाली सेना र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधि सहितको संयुक्त पट्रोल टोलीले निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरी निकुञ्ज कार्यालयमा बुझाएको छ।
माघ ७ गते पर्ने जगदुल्ला गाउँपालिकाबाट स्थानीय जन प्रतिनिधिको रोहवरमा १६ नाल भरुवा बन्दुक बुझेको थियो भने ११ गते सोही गाउँपालिकाको सिम्लौना भन्ने स्थानमा रहेको गोठमा सर्च गर्दा २ नाल थप भरुवा बन्दुक फेला परेको थियो।
यस्तै, ११ गते डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका–८ का वडा अध्यक्ष, मध्यवर्ती अध्यक्ष तथा स्थानीयको रोहवरमा पुनः थप ७ नाल भरुवा बन्दुक बुझेको थियो।
यसैगरी माघ ११ गते नै बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ जिल्ला बबई गाउँपालिका–१ को खयरखुट्टि स्थित स्थानीय व्यक्तिको घरबाट समेत १ नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ।
स्थानीय जन प्रतिनिधिहरुको सहयोगमा भरुवा बन्दुक जस्ता हातहतियारहरु सरकारी निकायलाई हस्तान्तरण गर्नु अति नै प्रशंसनीय कार्य रहेको र यसबाट स्थानियवासीहरु सचेत हुँदै गएको एवम् निकुञ्ज सुरक्षा प्रशासनको विश्वसनियता बढ्दै गएको नेपाली सेनाले जनाएको छ।
यस प्रकारका पहलकदमीले निकुञ्ज तथा आसपास ईलाकामा हुने गरेका चोरी शिकारी तथा अवैध गतिविधि नियन्त्रणमा आउने नेपाली सेनाले विश्वास लिएको छ।

प्रतिक्रिया