मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मंगलबार बिहान घर नजिकै जंगलमा घाँस काट्न गएको बेला सुन्दरहरैँचा नगरपालिका-१० की २८ वर्षीया सीता पराजुलीलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
हात्तीको आक्रमणबाट घाइते उनको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए। विराटनगरको कोसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
छिमेकी मीरा बोगटीसँगे पराजुली साइकल लिएर मंगलबार बिहानै घाँस काट्न जंगल गएकी थिइन्। केराबारी–खोर्साने सडकखण्डबाट पूर्व दक्षिणतर्फ घाँस काटिरहेका बेला उनलाई एक्कासी हात्तीले आक्रमण गरेको हो।
सीता चिच्याएको सुनेपछि मीराले भागेर ज्यान जोगाएकी प्रहरीले जनाएको छ। जंगलमा बाक्लो हुस्सु लागेकाले हात्ती नजिकै आउँदा पनि सीताले नदेख्दा घटना भएको अनुमान छ।

प्रतिक्रिया