समाज


सुरु भयो पश्चिमी वायुको प्रभाव, ३ दिनसम्म माैसम यस्ताे रहने अनुमान

सुरु भयो पश्चिमी वायुको प्रभाव, ३ दिनसम्म माैसम यस्ताे रहने अनुमान

नेपालखबर
पुस २९, २०७७ बुधबार १२:५०,

केही दिनदेखि उल्लेखनीय मौसमी प्रणाली नरहेको नेपालमा आज (बुधबार) साँझबाट पश्चिमी वायुको सामान्य प्रभाव सुरु भएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यसैको प्रभावले अहिले देशका पहाडी भेगमा बादल लागेको छ। साथै माैसममा अहिले स्थानीय वायुकाे प्रभाव पनि छ।

‘केही दिनदेखि घाम लागिरहेको थियो भने अब मौसम अलि धुम्म हुनेछ,’ मौसमविद् पौडेलले बुधबार साँझ नेपालखबरसँग भने, ‘यो खासै ठूलो सिस्टम त होइन, तर यसले हल्का बादल लगाउने, हल्का वर्षा तथा हिमपात गराउने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाले अघि साँझ ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने पूर्व र पश्चिम तराईमा हल्का हुसु/कुहिरो लागेको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी ३ दिन मौसम यस्तो रहने अनुमान छ :

पुस २९ गते (बुधबार)

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

माघ १ गते (बिहीबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशकाे तराई भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राती : प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ।  प्रदेश नं १ का  एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

माघ २ गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही  देशका अन्य भूभागमा आंशिक बदली रहने देखीन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad