ब्ल्याक बक्स भेटिएसँगै यसले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्नेछ। यद्यपी ककपिट भ्वाइस रेकर्डर अझै नभेटिएकाले त्यसको खोजी कार्यलाई तीव्रता दिइएको छ।
न्युयोर्क टाइम्सका अनुसार गोताखोरले मंगलबार ब्ल्याक बक्सलाई समुन्द्रको ७५ फिट तलबाट खोजेर बाहिर निकालेका थिए।
अब ककपिट भ्वाइस रेकर्डर भेटिए दुर्घटनाको अुसन्धान गर्न निकै सहज हुने बताइएको छ। ककपिट रेकर्डमा दुर्घटना हुँदै गर्दा पाइलटहरुले के कुरा गरे भन्ने अडियो हुन्छ।
राजधानी जकार्ताबाट गत शनिबार अपराह्न उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै जाभा समुद्रमा खसेको थियो।
विमानमा चालक दलका सदस्य सहित ६२ जना त्यहाँ सवार थिए। दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ। यद्यपी हालसम्म मानव अंग मात्र भेटिएकाले कुनै पनि व्यक्तिको पहिचान भने भइसकेको छैन।
यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा पनि बोइङको विमान दुर्घटनाग्रस्त बनेको थियो।
त्यसबेला ७३७ म्याक्स विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया