समाज


नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
पुस २६, २०७७ आइतबार १३:०,

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने नापी कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनसन्धान आयोगले नापीका कर्मचारी र मिलेमतोमा संलग्नहरुमाथि दुई करोड दुई लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा विगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। साथै विभिन्न व्यक्तिहरुका नाममा कायम गरिएको जग्गा जफत गर्न माग दावीसमेत गरेको छ।

साविक हरिसिद्धी गाविस १/क हाल ललितपुर महानगरपालिका–२८ र साविक ऐ. धापाखेल गाविस १/घ (२) हाल ललितपुर महानगरपालिका–२३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारी-सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालय, ललितपुरका केही भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ्ग गरी ब्यक्ति विशेषलाई बिक्री वितरण गरेको अख्तियारको आरोप छ।

ललितपुर महानगरपालिका वडा नं. २८ र २३ का आठ रोपनी १२ आना तीन पैसा दुई दाम क्षेत्रफल रहेका सरकारी जग्गा हिनामिना गरेको पुष्टि भएको अनुसन्धानका क्रममा खुलेको छ।

अख्तियारले राष्ट्रसेवक कर्मचारी भई आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुर्‍याउने कार्य गर्ने गराउने तत्काल नापी कार्याल, ललितपुर र मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरु, यूरो ल्याण्ड डेभलपर्स प्रालि, यूरो हाउजिङ डेभलपर्स प्रालि र काठमाडौं हस्पिटल प्रालिका संचालकसमेतका विरुद्ध आरोप पत्र दायर गरेको हो।

अख्तियारले दिएको जानकारी अनुसार कार्यालय प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगर, तत्काल कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेल, गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर, यूरो हाउजिङ्ग डेभलपर्स प्रालि,यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू, डा ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र श्रीमती दुर्गेस नन्दिनी भट्टचन, काठमाडौं अस्पताल प्रालिका संचालकहरूविरुद्ध विगो २ दुई करोड, दुई लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा कायम गरी विगो जफतसमेत हुन मागदावी लिइ मुद्दा दर्ता गरिएको हो।

साथै, यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालि, काठमाडौं हस्पिटल प्रालिका कम्पनीहरूका संचालकहरू तथा सरकारी कर्मचारीहरूको एकआपसको मिलेमतो र साँठगाँठ तथा बदनियतबाट सार्वजनिक जग्गा कम्पनीको जग्गामा घुसाई कम्पनीको जग्गा बढाई नियमविपरीत प्लटिङ गरी सर्वसाधारण व्यक्ति विशेषलाई सुक्रीबिक्री गरेका विभिन्न कित्ता जग्गाहरू तथा निज व्यक्तिहरूले पछि क्रमशः सुक्रीबिक्री गर्दै हाल कायम रहेका जग्गाधनीहरू ज्योत्सना जोशीसमेत ३३ जना निजहरु देवी मिश्र, अरुणा झा, एपेक्स कलेज प्रालिका प्रतिनिधि सोमनाथ प्रसाई, कुमारी कंचन साह, कृष्ण साल्की, गोपाल तिमल्सिना, तीर्थ बहादुर कार्की, त्रिलोक राज शाक्य, देव नारायण तिमल्सिना, नारायण देवी मानन्धर, निर्मला शाक्य, पूर्ण गोविन्द लाखे श्रेष्ठ, विरो देवी यादव, भुवनेश्वरी पराजुली, पंकज पराजुली, मिना कुमारी कार्की राउत, यूरो हाउजिङ्ग डेभलपर्स प्रालिका गुणीकाजी मानन्धर, रस्मी महर्जन, राजेन्द्र प्रसाद रुपाखेती, राज्य लक्ष्मी अमात्य, राम दुलारी देवी साह, राम माया महर्जन, रुपा श्रेष्ठ, लोक बहादुर डंगोल, लोकेश महर्जन, शकुन्तला श्रेष्ठ, शुशिल मानन्धर, सरिता कुमारी ठाकुर, सुनिल मानन्धर, सुरेन्द्र कुमार मण्डल, सोनिया पोख्रेलसमेतका व्यक्तिहरूका नाममा रहेको सार्वजनिक खोलाको जग्गा असुलउपर र जफत गरी नेपाल सरकारको नाममा कायम गरी पाउन मागदाबी लिई उनीहरूलाई समेत प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad