बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ। शनिबार राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टाेलीलाई ताकेर गाँजा तस्करीमा संलग्न ८/१० जनाको समूहले गोली हानेकाे हाे।
बारा जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रका अनुसार गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टाेली भक्तलाल खोलाको बगरमा पुगेको थियो।
त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हाे। जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हाे।
घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका-६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ। साथै १०२ किलाे गाँजा पनि बरामद भएको डीएसपी गौतमले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया