धनुषाको विदेह नगरपालिका–२ मा पाँच वर्षीय बालकको हत्या भएको छ। स्थानीय जीवन रायका पाँच वर्षीय छोरा अभिनन्दन रायको हत्या भएको हो।
बिहीबार दिउँसोदेखि हराइरहेका बालक अभिनन्दनको शव हत्या गरेर गाडिएको अवस्थामा घरभन्दा एक किलोमिटर दक्षिण ब्रहमदेव रायको भैँसी गोठमा फेला परेको प्रहरीले जनाएको छ।
खुट्टाको भाग मात्र देखिने गरी गाडिएको अवस्थामा शुक्रबार खोजतलासको क्रममा शव फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
प्रहरीले शवको प्रकृति हेर्दा घाँटी थिचेर हत्या गरी गाडेको हुन सक्ने अनुमान गरेको छ। बिहीबार दिउँसो २ बजे खेलिरहेको अवस्थामा बालक बेपत्ता भएका थिए।
दुहबी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा शव फेला परेको हो। पारिवारिक रिसिइबीको कारण बालकको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।
बालकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई पक्रउ गरी अनुसन्धान थालेको डीएसपी मिश्रले जानकारी दिए।
बालकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया