धनुषाको मालटोलमा डिजेल बोकेको ट्यांकर र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बिआर शून्य जिडी ८८५९ नम्बरको भारतीय ट्रक ठोक्किँदा दुई युवाको मृत्यु भएको हो।
दुर्घटनामा परी ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारत विहार राज्य चम्पारण जिल्ला गमहरिया पञ्चायत बस्ने २० वर्षीय रङ्गिला कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
गम्भीर घाइते चालक मण्डललाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्रक चालक रङ्गिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते ट्याङ्करका सहचालक मोरङको धनपाल गाउँपालिका–३ बस्ने २२ वर्षीय धनराम यादवलाई जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने ट्रकका सहचालक भारतीय नागरिक जावेद आलमको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
ठक्करबाट ट्याङ्कर र ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४च ९३१७ नम्बर पिकअप बोलेरोले पश्चिमबाटै डिजल बोकेको ट्याङ्करलाई ओभरटेक गरेर अगाडि बढ्ने क्रममा पूर्वबाट आइरहेको भारतीय ट्रकमा ठोक्किन पुगेपछि ट्रकको सन्तुलन बिग्रिएर ट्याङ्करमा ठोक्किएको अनुमान गरिएको छ । दुर्घटनामा पिकअप बोलेरो गाडीमा पनि क्षति पुगेको छ।

प्रतिक्रिया