बिक्रि गरेको उखुको चार वर्षदेखी पैसा पाउँ भनी संघर्ष गरिरहेका एक बृद्ध उखु किसानले आन्दोलनकै क्रममा राजधानीमा ज्यान गुमाएका छन्।
दुई हप्तादेखि काठमाडौंको चिसोमा सडकमै प्रदर्शन गरिरहेका नारायण राय यादवको मंगलबार बिहान निधन भएको हो।
सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा २१ दिनभित्र उखु किसानले भुक्तानी पाउने भन्ने सहमति भएपछि त्यहाँबाट विदा भएका यादवले साँझ आफूलाई असहज महशुस भएको बताएका थिए। उनले सँगै रहेका साथीलाई आफूलाई ‘केही अप्ठ्यारो भएको’ सुनाएका थिए।
चिनि मिलसँग २१ दिनभित्र भुक्तानी दिने भनी सोमबार गरिएको चार–बुँदे सहमतिप्रति उनी सन्तुष्ट थिएनन्। विगतमा पनि यस्ता सहमति तोडिएका कारण उनले यो सहमतिको विश्वास नभएको भन्दै यसवर्ष पनि पोहोरसाल जस्तै धोका पाउने साथीहरुलाई बताएका थिए।
गतवर्ष पुस १८ मा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको समन्वयमा माघ ७ भित्र किसानलाई भुक्तानी दिने भनी पाँच–बुँदे सम्झौता भएको थियो। तर किसानले भुक्तानी नपाएपछि फेरी यो वर्ष उनीहरु पुनः आन्दोलन गर्न काठमाडौं आएका हुन्।
सर्लाही जिल्ला धनकौल गाउँपालिका छठौंलका उखु किसान नारायण राय यादव आन्दोलनका क्रममा आफ्ना साथीहरुसँग गोठाटारको कृष्णप्रणामी मन्दिरमा बस्दै आएका थिए।
चार वर्षदेखिको उखुको पैसा पाउँ भनी संघर्षरत् यादवको सहमति भएकै भोलिपल्ट मंगलबार बिहान करिब १० बजे मृत्यु भएको हो।
‘उहाँले हिजो राति नै मलाई गाह्रो भयो भन्नुभयो। सुरुमा उहाँलाई हेल्दी होम नामक अस्पताल लग्यौं। त्यहाँबाट रिफर भएर गंगालाल अस्पतालमा भर्ना गरिएको थियो,’ जनता समाजवादी पार्टीका विद्यार्थी नेता समेत रहेका मनिष मिश्रले नेपालखबरसंग भने ‘करिब ६३ वर्ष उमेर रहेका उहाँ कृष्णप्रणामी मन्दिर गोठाटारमा बस्दै आउनु भएको थियो। मंगलबार विहान साढे नौ देखि १० बजेको बेला उहाँको निधन भयो।’
चिनि मिलले किसानको उखु लैजाने तर भुक्तानी नदिने गरेको भन्दै उखुकिसानहरु वर्षौंदेखि आन्दोलन गरिरहेका छन्।

गतवर्ष धोका पाएका किसान यो वर्ष सबै भुक्तानी बुझेर मात्र फर्कने बताउँदै आएका थिए। करिब १८ दिन सडकमा बिताएका किसानहरुले सोमबारको सहमतिपछि आन्दोलन फिर्ता लिएका थिए।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायका अनुसार यादव आन्दोलनका लागि दुई हप्तापहिले काठमाडौं आएका हुन् र निरन्तर प्रदर्शनमा सहभागी थिए।
‘म काठमाडौं आएको १८ दिन भयो। नारायण राय यादव केहि दिनपछि आउनुभएको हो,’ रायले भने ‘अहिले यस्तो दुःखद घटना हुनपुग्यो।’
उनका अनुसार यादवका १ छोरी ३ छोरा छन्। उनीहरु पनि उखु खेतीमै बाबुलाई सघाउँदै आएका छन्।
‘छोराछोरीहरुको अरु कुनै जागिर छैन, बुबासंगै खेतीपातीको काम गर्दै आएका छन्,’ अध्यक्ष रायले भने।
सोमबार राती उनलाई हस्पिटल भर्ना गरिएसंगै परिवारलाई खबर गरिएको थियो। उनको परिवार सर्लाहीबाट मंगलबार नै काठमाडौं आईपुगेको छ।
‘उनका छोरा र परिवारका अन्य सदस्यहरु काठमाडौं आईपुग्नुभएको छ। उहाँको पार्थिव शरिरलाई सर्लाही नै लगेर अन्त्येष्टि गरिनेछ,’ उनले भने।
यादवका छिमेकी गाउँका विद्यार्थी नेता मनिष मिश्रका अनुसार यादवले अन्नपूर्ण सुगरमिलबाट करिब २५ लाख बक्यौता लिन बाँकी थियो।
त्यसमध्ये उनले १ लाख ६० हजार रुपैयाँ मात्र पाएका थिए। सोमबारको सहमतिपछि पनि बाँकी पैसा तत्काल पाउने उनलाई विश्वास थिएन।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले आफूहरुले उद्योगीबाट ९० करोड रुपैयाँ लिन बाँकी रहेको बताए।
तर उद्योगीहरुले भने ६५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको दाबी गरेका छन्।
सरकारले यस विषयमा पनि छानबिन गरी भुक्तानी दिलाउने सहमति गरेको उनले बताए।
सम्झौताअनुसार २१ दिनभित्रमा ६५ करोड रुपैयाँ मात्रै भुक्तानी हुनेछ। बाँकी रकम छानविनको प्रतिवेदन आएपछि सरकारले नै भुक्तानी गराउने जिम्मेवारी लिएको किसानले बताएका छन्।
तर विगतमा पटक पटक धोका पाएका नारायणराय यादव यसपटक पनि उद्योगीले नठग्लान् र सरकार पक्षबाट पनि न्याय होला भन्नेमा आशावादी थिएनन्।
यो पनि :
- २१ दिनभित्र भुक्तानी पाउने आश्वासनपछि उखु किसानको आन्दोलन स्थगित
- सम्झौतापछि उखु किसानले भने: २१ दिनभित्र सबै भुक्तानी नपाए फेरि आन्दोलनका लागि काठमाडौँ आउँछौँ
Shares

प्रतिक्रिया