राजनीति


प्रधानमन्त्रीले नेताहरुकाे फोन ट्यापिङ गरिरहेका छन् : पूर्वमन्त्री पुन

प्रधानमन्त्रीले नेताहरुकाे फोन ट्यापिङ गरिरहेका छन् : पूर्वमन्त्री पुन

नेपालखबर
पुस १४, २०७७ मंगलबार १३:५६,

नेकपा (प्रचण्ड-नेपाल) समूहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा पूर्वमन्त्री पुनले नेताहरुलाई तर्साउन फोन ट्यापिङ गरिएको बताए।

‘सबै नेताहरुका टेलिफोन ट्यापिड भइरहेको छ। नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’, पुनले भने, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा यो स्वीकार्य हुन सक्दैन।’

यस्तै प्रधानमन्त्रीका कारण राष्ट्रिय व्यवसायी आतंकित बनेको उनले आरोप लगाए।

सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतबस आफू मातहत राखेर प्रधानमन्त्रीले सुरुमै सबै चिज आफूमा केन्द्रित गर्ने संकेत देखाएको स्मरण उनले गरे। 

‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसनधान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई तर्साएर आत्मसर्पण गर्नेलाई आत्मसमर्पण गराउने र नगर्नेलाई कारबाही गर्ने काम भयो। हामीले सबै अधिकार एउटै व्यक्तिका अधिनमा राखेर मानिसहरुलाई आतंकति पार्ने खालको लोकतन्त्र ल्याएका होइनौं’ पुनले भने।

शक्ति र सत्ताको दुरुपयोग दुई दिनको कुरा भएको भन्दै उनले सत्ता र शक्तिको धम्कीबाट आफूहरु नडराउने बताए।

प्रधानमन्त्री ओलीले संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले दलभित्र असहयोग भएको बहानामा जनताको अभिमतको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्रीलाई नदिएको बताए।

‘मलाई केही नेताले मन पराएनन् भन्ने आधारमा संसद विघटन गरिएको छ’, उनले भने, ‘पार्टीमा झगडा हुँदा वा प्रधानमन्त्रीको मन्त्रीसँग मतभेद हुँदा संसद विघटन गर्न पाउने या यस्तै कुनै आधार र कारणले संसद विघटन गर्ने ठाउँ छैन, हामी यसलाई कथित विघटन भन्छौं।’

सरकारका तीनवटै नीति कार्यक्रम र बजेट संसदबाट पास भएको तथा कुनै पनि विधेयक संसदबाट अस्वीकृत नभएको अवस्थामा पार्टी र संसदमा असहयोगका कारण विघटन गर्नुपरेको भन्ने दाबी असत्य रहेको चर्चा पुनले गरे।

संविधानको धारा ७६ को सामान्य लेखपढ गर्न सक्ने जो कोहीले सजिलै व्याख्या गर्न सक्ने उल्लेख गर्दै उनले त्यसअनुसार संसद विघटन हुनै नसक्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad