ad ad

समाज


झडपमा ज्यान गुमाउने कांग्रेस कार्यकर्ताका परिवारलाई १० लाख दिने सरकारको निर्णय

झडपमा ज्यान गुमाउने कांग्रेस कार्यकर्ताका परिवारलाई १० लाख दिने सरकारको निर्णय

नेपालखबर
पुस ९, २०७७ बिहिबार ३:२७,

सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई १० लाख आर्थिक सहायता दिने निर्णय गरेको जानकारी दिए।

गत असोज २१ गते छिमेकीसँग विवादका क्रममा कुटपिटबाट घाइते महेन्द्रको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो।

नेपाली कांग्रेस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाइबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबी गर्दै आएको छ। कांग्रेसले मृतकलाई शहीद घोषणा तथा क्षतिपूर्तिवापत १० लाख उपलब्ध गराउनु पर्ने र कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाही गर्नुपर्ने कांग्रेसको माग छ।

कांग्रेसका नेता कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । झडपमा परी कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मी गरी पाँच दर्जनभन्दा बढी घाइते भएका थिए।

कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय र नेताहरु डा.अमरेशकुमार सिंह, वीरेन्द्रकुमार सिंह, उपेन्द्र कुशवाहालगायतको नेतृत्वमा निरन्तर आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले उचित आर्थिक सहयोग उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस गरेको थियो।

मृतक महेन्द्रको शव अझै पनि वीरगञ्जको अस्पतालमै रहेको पीडितका आफन्तजनले बताएका छन् ।

प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले सरकारले गरेको निर्णयानुसार रकम आउन केही दिन लागे पनि जिल्ला प्रशासन कार्यालयले लिखितरूपमा मृतक परिवारलाई १० लाख पाउने निर्णय भएको पत्र दिए तत्कालै शव बुझ्ने बताए।

प्रमुख जिल्ला अधिकारी पौडेलले आफूलाई आधिकारीकरूपमा परिपत्र आएपछि मात्र पत्र दिन सकिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .