राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गर्न नदिन देशव्यापी प्रतिरोध अभियान गर्ने भएको छ।
पूर्वगृहमन्त्रीसमेत रहेका सांसद लामिछाने पक्राउ परेको अवस्थामा ठूलो राजनीतिक क्षति हुने भन्दै सरकारलाई दबाब दिन कार्यकर्ता उतार्ने योजनामा सो पार्टी लागेको हो।
आज सोमबारसम्म रविलाई पक्राउ गर्ने तयारी भइरहेको गृहमन्त्रालय सम्वद्ध स्रोतहरूले आइतबार साँझ नै बताएका थिए। जसका कारण सभापति लामिछानेसहित रास्वपाका नेता–कार्यकर्ताले सतर्कता अपनाएका थिए। लामिछाने आफै पार्टी कार्यालयमा आइतबार राति अबेरसम्म बसेर सरकारमाथि दबाब बढाउन कार्यकर्तालाई प्रदर्शनमा समेत उतारेका थिए।
यद्यपि, सोमबार साँझ यो रिपोर्ट तयार पार्दासम्म अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको खुलेको छैन।
जुनसुकै बेला प्रहरीले पक्राउ गर्नसक्ने सम्भावना देखेपछि रास्वपाले सरकारलाई दबाब दिने रणनीति लिएको छ।
आइतबार काठमाडौँ उपत्यकाका तीनै जिल्लाका नेता/कार्यकर्तालाई पार्टी कार्यालय काठमाडौँको चःमतीमा भेला पारिएको थियो। सोमबार पनि बिहानैदेखि उनीहरू पार्टी कार्यालयमा भेला भए। पक्राउ गर्नै नदिन कम्तीमा १५ दिन सो अभियान चलाउन पार्टीले निर्देशन दिएको रास्वपाका एक पदाधिकारीले बताए।
‘अन्यायका विरुद्ध लड्ने भनेर हामीले पार्टी खोलेका हौँ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘तर, हाम्रो सभापतिलाई पक्राउ गर्न खोजेर त्रासमा राख्नु भनेको अलोकतान्त्रिक र निरंकुश नै हो। यसका विरुद्ध प्रतिरोध हुन्छ।’
‘सहकारी रकम अपचलनमा रवि लामिछाने दोषी नभएको प्रतिवेदन नै सार्वजनिक भएको’ दाबी गर्दै सरकारले अनावश्यक दुःख दिने नियत राखेको उनले गुनासो गरे।
‘सहकारीको सन्दर्भमा ‘हि इज क्लिन’ भनेको हो नि। जबर्जस्ती गरेर राज्यले आफ्नो शक्ति दुरूपयोग गर्न खोज्यो। यो प्रतिशोध साँधेको हो,’ ती पदाधिकारीले थपे, ‘रवि लामिछानेलाई सिध्याउन पाए त गजबै हुन्छ भन्ने परेको होला।’
गोर्खा मिडिया नेटवर्कमा आएको सर्वसाधारणको बचत रकम अपचलनमा उनी दोषी देखिएको भन्दै संसदीय विशेष छानबिन समितिले कारबाहीको सिफारिस गरेको थियो।
सरकारले आइतबार (असोज ६) समितिको प्रतिवेदन कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएलगत्तै गोर्खा मिडिया नेटवर्कमा सञ्चालक रहेका छविलाल जोशी पक्राउ परेका छन्।
उनको पक्राउपछि रास्वपा सभापति लामिछानेलाई पनि पक्राउ गर्नसक्ने सूचना बाहिरिएपछि उनी आइतबार राति अबेरसम्म पार्टी कार्यालयमै बसेका हुन्।
जोशी पक्राउ परेपछि रास्वपाका नेताहरू अत्तालिएका छन्। केही नेताले सभापति लामिछानेलाई प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्ने भन्दै केही दिन देशभर आन्दोलन चर्काउन सुझाव दिएका छन्।
उनलाई पक्राउ पर्न नदिन उपत्यकाका तीनै जिल्लामा रहेका नेता र कार्यकर्तालाई पार्टी कार्यालयमा जम्मा गराइएको थियो।
तर अहिले प्रहरीका उच्च तहका अधिकारीले कम्तीमा १५ दिन पक्राउ नगर्ने सूचना दिएको ती नेता बताउँछन्।
‘हिजो राति पनि प्रहरीका केही उच्च तहका अधिकारीसँग कुरा भएको छ, उहाँहरूले १०/१५ दिन केही गर्दैनौँ भन्नुहुन्छ,’ उनले थपे, ‘त्यसपछि त गर्छु भनेको हो। यस्तो कुराको पछि लागेर पनि हुन्छ?’
देशका केही स्थानमा राखिएको रास्वपाको बोर्ड प्रहरीले हटाउन थालेकोमा उनले असन्तुष्टि जनाए। जसको लागि ‘निलो क्रान्ति’ अभियान थालिएको सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी बताउँछन्।
‘आफ्नो ठाउँमा (वडा, गाउँ, जिल्ला लगायतका स्थान) प्रतिरोध अभियान गर्नु भनेर भनेको छ,’ बुर्लाकोटीले नेपालखबरसँग भने, ‘सरकारले प्रतिशोध साँध्नेगरी षडयन्त्र गर्न थालेकोले त्यसलाई प्रतिवाद गर्न आवश्यक छ।’
सभापति रविलाई पक्राउ गर्न लागेको हल्ला देशभर फैलिएपछि चितवन लगायतका केही जिल्लाबाट कार्यकर्ता काठमाडौँ आएका छन्।
तर, बुर्लाकोटी भने बदला लिने योजनामा सरकार उत्रिएपछि सभापतिको गिरफ्तारी रोक्न स्वतस्फूर्त मानिसहरू जम्मा भएको दाबी गर्छन्।
‘सरकार जसरी आउँछ, त्यसरी हामी जाँदैनौँ, हामी सभ्य, संयमित भएर जान्छौँ,’ बुर्लाकोटीले नेपालखबरसँग भने, ‘हामी षडयन्त्र गर्दैनौँ।’
यसै विषयमा आइतबार रवि र सांसद विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग छलफल गरेका थिए।
कार्यकर्तामा तरङ्ग
रविलाई पक्राउ गर्न लागिएको हल्ला चलेपछि देशभरका रास्वपा कार्यकर्ता रुष्ट छन्। उनीहरूले सामाजिक सञ्जालबाट सरकारको रवैयाको विरोध गर्न आह्वान गरेका छन्।
रास्वपाले आफ्ना नेता–कार्यकर्तालाई ‘हाई अलर्ट’मा बस्न र सडकमा प्रदर्शनका लागि तयारी अवस्थामा रहन आइतबार नै निर्देशन दिएको छ।
तर, सहमहामन्त्री बुर्लाकोटी अभियान शान्तिपूर्ण हुने दाबी गर्छन्।
‘हामीले निलो क्रान्ति गर्ने भनेका छौँ, यो शान्तिपूर्ण, भद्र, संयमित हिसाबले लिखित दफा कानुनमा टेकेर संवाद र बहस, पैरवी गर्छाैँ,’ बुर्लाकोटीले थपे, ‘यसमा छलफल गर्नुपर्ने केही छैन, प्रतिवेदनमै रविजीको संलग्नता छैन भनिसकेको छ।’
कम्पनीमा आएको रकम हिनामिना गरिएको प्रमाणित भएर दोषी ठहर भए कानुन अनुसार भोग्न तयार रहेको उनी बताउँछन्।
‘रवि लामिछानेलाई पक्राउ गरेर जेल हाल्न कुन चाहिँ कानुनले भेट्ने हो र समात्न लामो हात गरेर हिँड्ने?’ बुर्लाकोटीले प्रश्न गरे।
Shares

प्रतिक्रिया