ad ad

कारोबार


दसैँमा चाप हुने मुख्य ५ सडक भद्रगोल, १० गतेभित्र खाल्डाखुल्डी पुर्ने दाबी

दसैँमा चाप हुने मुख्य ५ सडक भद्रगोल, १० गतेभित्र खाल्डाखुल्डी पुर्ने दाबी

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडक। तस्बिर: सरोज नेपाल


वसन्त अर्याल
असोज ७, २०८१ सोमबार १२:४०, काठमाडौँ

सडक विभागले असोज १० गतेभित्रै भद्रगोल राजमार्गका खाल्डाखुल्डी पुर्ने दाबी गरेको छ।

काठमाडौंबाट बाहिरिने मुख्य सबै सडक निर्माणाधीन रहेकाले खाल्डाखुल्डी पुरेरै दसैँ यात्रा सहज बनाउने विभागले दाबी गरेको हो।

काठमाडौंबाट बाहिरिने अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडक, उपत्यका जोड्ने मुख्य राजमार्ग नागढुंगा–मुग्लिङ, मुग्लिङ–पोखरा, नारायगढ–बुटवल र काठमाडौं–हेटौंडा सडक निर्माणाधीन छन्। 

सडक विभागका उपमहानिर्देशक तथा सडक सम्भार महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्यालले असोज १० गतेभित्र सडकका खाल्डाखुल्डी पुर्ने लक्ष्य राखेको बताए। 

‘काठमाडौं उपत्यकासहित नियमित सञ्चालित सडकमा खाल्डाखुल्डी भए पिच गर्ने लक्ष्य छ’, उपमहानिर्देशक अर्यालले नेपालखबरसँग भने, ‘सडक विस्तार तथा ठेक्का लागेर निर्माण भइरहेका ठाउँमा सम्बन्धित व्यवसायीले नै खाल्डाखुल्डी पुर्ने निर्णय भएको छ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालासँग छलफल हुँदा सडक विभागले असोज १० गतेसम्म सडकका खाल्डाखुल्डी पुर्ने र नभ्याएका सडकमा १७ गते घटस्थापनाको दिनसम्म सक्याउने निर्णय भएको छ। 

‘सडक विभागअन्तर्गत नेपालका जुनसुकै सडकमा गाडी कुदाउँदा पनि जान सक्ने गरी मर्मत गर्ने भन्ने रहेको छ’, उनले भने, ‘अवरोध भएका सडक खुलाउने पहिलो प्राथमिकता छ भने खाल्डाखुल्डी भर्ने दोस्रो प्राथमिकता हो।’

यो वर्षातमा बन्द भएका अधिकांश सडक एकतर्फी मात्रै सञ्चालन भएका छन्। सडक विभागको तथ्यांकअनुसार ६१९ सडकमध्ये २८७ सडक मात्रै दुवैतर्फ सुचारु छन्। ३३२ सडक एकतर्फी चालू छन्। 

कुन सडकको कस्तो छ अवस्था?
काठमाडौंबाट बाहिरिँदा सबैभन्दा बढी बिग्रिएको सडक नागढुंगाबाट नौबीसेसम्म करिब १२ किमि छ। नौबीसेबाट गजुरीसम्म अधिकांश ठाउँमा पुरानो कालेपत्रे बाँकी भए पनि नौबीसे–नागढुंगामा कालोपत्रे भत्काइएको छ। 

‘काठमाडौंबाट नौबीसेसम्म पुरानो कालोपत्रे भत्काइएको थियो। त्यसैले वर्षातको समयमा गाडी कुदाउन अलि गाह्रो थियो’, नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले भने, ‘अहिले ८० प्रतिशत सडकमा ग्राभेल राखेर कुदाउन मिल्ने बनाएका छौँ। १० गतेसम्म शतप्रतिशत नै काम गर्छौँ।’

पुरानो कालोपत्रे भएको ठाउँमा खाल्डा भए कालोपत्रे नै गरेको र सबै कालोपत्रे उप्काएको ठाउँमा ग्राभेलले गरिएको उनले बताए। 
‘पछिल्लो एक हप्तायता यात्रा गर्नेले सडक सुधार भएको बताउने गर्नुभएको छ। अझै १० दिनमा सकेको राम्रो बनाउँछौँ’, ओझाले भने।

काठमाडौं बाहिरिने मुख्य राजमार्ग निर्माणाधीन छ। नागढुंगा–मुग्लिङ सडक निर्माण भइरहेको छ। २ वटा खण्ड बनाई निर्माण भइरहेको छ। पूर्वी खण्ड मलेखुसम्म छ भने दोस्रो खण्ड मलेखु–मुग्लिङमा छ। 

मुग्लिङ–पोखरा सडक पनि निर्माणाधीन छ। २ खण्डमध्ये मुग्लिङतर्फ अधिकांश सडक बनेको छ भने पोखरातर्फ कालोपत्रे हुन बाँकी छ। लेखनाथमा पुरानो कालोपत्रे बाँकी छ। पश्चिम खण्डको बाँकी सडक निर्माणमा भने ढिलाइ भइरहेको छ। 

त्यसैगरी, नारारायणगढ–बुटवल खण्ड ६ वर्षदेखि अलपत्र छ। २ खण्ड बनाएर ठेक्का लगाए पनि प्रगति हुनसकेको छैन। दाउन्ने पश्चिमतर्फ ४८.५ किमिमध्ये ३० किमि सडकमा २ लेनको सडक कालोपत्रे भइसकेको छ। 

‘वर्षातको समयमा काम रोकिएको थियो। कामदारहरु फिल्डमा आइपुगेका छन्’, नारायणगढ–बुटवल पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले भने, ‘बुटवल–खैरेनी सडक दसैँसम्म कालोपत्रे भइसक्छ। अन्य ठाउँमा ग्राभेल हालेर भए पनि हिँड्नलायक बनाउँछौँ।’

पश्चिम खण्डमा दाउन्ने सडक समेत पर्छ। हरेक वर्ष यात्रु र सवारीसाधन फस्ने र ट्राफिक चाप हुने गरेको छ। उक्त सडक अहिले पनि धेरै सुधार हुनसकेको छैन। 

‘दाउन्नेमा गत वर्षजस्तो हुँदैन। अहिले वर्षातको समयमा पनि खासै समस्या भएन’, मिश्रले थपे, ‘दसैँको समयमा यात्रा गर्दा सहजै गाडी आउजाउ गर्न सक्छन्।’

काठमाडौं–हेटौंडा पुग्ने सडकको विकल्प भए पनि अधिकांश निर्माणाधीन छन्। कान्ति लोकपथ ५ दशकदेखि निर्माणाधीन छ। यसअन्तर्गत २ किमि सडकमा बारम्बार पहिरो जाँदा अवरुद्ध हुने गरेको छ। थानकोट चित्लाङ, फर्पिङ–मड्खु सडक निर्माणाधीन अवस्थामै छन्।

पछिल्लो समय दक्षिणकाली हुँदै हेटौंडा पुग्ने सडकमा केही सुधार आएको छ। 

काठमाडौं उत्तरपूर्व जाने अरनिको राजमार्ग समेत निर्माणाधीन छ। धुलिखेल खावाको करिब ४ किमि सडक बन्नसकेको छैन। निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाका सडक इन्चार्ज भरत थापाले यो क्षेत्रमा खटिएका इन्चार्जले प्रगति विवरणबारे यथेष्ट जानकारी नदिँदा काममा ढिला भएको बताए। यद्यपि दसैँमा यात्रा गर्दा कुनै अप्ठ्यारो र अवरोध नहुने गरी निर्माण गर्ने उनको दाबी छ। 

‘पछिल्लो दुई महिनादेखि मैले नै यहाँको कामको प्रत्यक्ष निगरानी गरिरहेको छु। धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर सडकमध्ये दसैँसम्म २ किलोमिटर सडक पिच गरिसक्छौँ’, थापाले भने, ‘बाँकी दुई किलोमिटर तिहारसम्म सक्ने योजना छ। हामीले जिम्मा लिएको यो सडकमा दसैँका लागि कुनै अवरोध र अप्ठ्यारो नहुने गरी काम अघि बढाएका छौँ।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .