समाज


३० वर्ष काम गरेका पत्रकार ६५ वर्ष पुगेपछि मासिक १० हजार भत्ता

३० वर्ष काम गरेका पत्रकार ६५ वर्ष पुगेपछि मासिक १० हजार भत्ता

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ४:२३,

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभालाई बिहीबार बनेपामा संवोधन गर्दै आचार्यले ती काम छिट्टै कार्यान्वयनमा आउने दाबी गरे।

उनले महासंघको पहलमा पाँच करोड ३४ लाख रूपैयाँको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरिएको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपांगता भएका पत्रकारलाई मासिक १० हजारका दरले जीवन निर्वाह भत्ता दिइने बताए। ‘यो निर्णयलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको छ,’ उनले भने।

पत्रकारलाई आपतकालिन अवस्थामा सहयोग गर्न एक करोडको कोष स्थापना भइसकेको छ। त्यसका लागि अहिले ६० लाख जम्मा भइसकेको र बाँकी ४० लाख रूपैयाँ महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने आचार्यले बताए।

पत्रकारिता पेशा गरेर अरू वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उनले जानकारी दिए।

कार्यक्रममा उनले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे। सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले विज्ञापन वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चारगृहलाई सहयोग पुग्ने उनको भनाई थियो।

‘समानुपातिक विज्ञापन मात्रै लागू भयो भने सबैका लागि राम्रो हुने भएकाले त्यसलाई छिटो कार्यान्वयनमा ल्याउन सबै ठाउँबाट दबाब दिन आवश्यक छ,’ आचार्यले भने। छिटो कार्यान्वयनका लागि सुझाव दिए पनि कर्मचारीतन्त्रबाट उचित सहयोग नभइरहेको भन्दै उनले त्यसका लागि सबै ठाउँबाट दबाब दिन आवश्यक रहेकोमा जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad