प्रहरीको नियमित काम नै हो फरार अभियुक्त पक्राउ गर्नु। कोरोना संक्रमणको यो समय भने त्यस्ता व्यक्ति पक्राउ गर्न प्रहरीलाई अवसर बनेको देखिएको छ।
एक दिनमै एक सय ११ जना फरार अभियुक्त पक्राउ गरेका स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटी भन्छन्, ‘गाडी नचल्दा अपराधिले भाग्ने मौका पाएनन्, कोराना संक्रमणका बेला बाहिर बस्न गाह्रो भएपछि घर फर्किए। त्यस्तो अवस्थामा उनीहरु धमाधम पक्राउ परिरहेका छन्।’
हालका प्रहरी नायव महानिरीक्षक शैलेश थापाले फरार अभियुक्त पक्राउको विषय प्राथमिकतामा राखेका छन्। अपराधीहरु फरार भए यसले अपराध बढाउने प्रहरीको बुुझाई छ।
‘अपराध गरेर पनि समाजमा खुलेआम हिड्डुल गरेको देखिँदा समाजमा शान्ति सुरक्षाको महसुस हुँदैन’, एसपी बोगटी भन्छन्, ‘ढिलै भएपनि अभियुक्त पक्राउ गर्दा अपराधिलाई कसैगरी छुट हुन्न रहेछ भन्ने सन्देश जान्छ। समाजमा ढुक्कको वातावरण बनाउँछ।’
चालुु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै गत एक वर्षकोभन्दा बढी अभियुक्त पक्राउ परेका छन्। गत आर्थिक वर्षमा प्रहरीले २ हजार ३ सय ३२ जना फरार अभियुक्त पक्राउ गरेको थियो। यस वर्षको पहिलो चौमासिकमा मात्रै २ हजार ७ सय २६ जना अभियुक्त पक्राउ परेका छन्।
तर, जरिवाना भने गत वर्ष नै धेरै उठेको छ। गत वर्ष पक्राउ परेका व्यक्तिबाट ३८ करोड ८९ लाख ७४ हजार ३० रुपैयाँ जरिवाना अशुलउपर भएको थियो। यस वर्षको पहिलो चौमासिकमा ११ करोड ५५ लाख ४२ हजार एकसय रुपैयाँ जरिवाना अशुल भएको छ।
लकडाउन सुरु भएपछि चैतदेखि असारसम्ममा ३ सय ६७ जना पक्राउ परेका थिए। त्यो अवधिमा २ करोड २० लाख ३६हजार ८ सय ६८ रुपैयाँ जरिवाना उठेको थियो।
अभियुक्त पक्राउमा सबैभमन्दा अगाडि गण्डकी प्रदेश देखिएको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले थोरै अभियुक्तलाई मात्रै पक्रेको छ। सीआईबीले पहिलो चौमासिकमा ९ जनालाई मात्रै पक्राउ गरेको छ।
यहि अवधिमा गण्डकी प्रदेशले १ हजार १ सय ८९ जनालाई पक्राउ गरेर फैसला कार्यन्वयन गराएको छ। लुम्बिनी प्रदेशमा ५ सय २१ जना पक्राउ परेका छन्।
प्रदेशगत हिसावले सूदुरपश्चिममा पक्राउ पर्नेको संख्या कम छ। त्यहाँ ५५ जना मात्रै पक्राउ परेका छन्। प्रदेश नं १ मा १ सय २५ जना, प्रदेश २ मा २ सय ४८ जना, बाग्मती प्रदेशमा २ सय २१ जना र कर्णाली प्रदेशमा ३ सय ३१ जना फरार अभियुक्त पक्राउ परेका छन्।
फैसलापछि पनि अपराधी कानुुनको दायरामा नआउँदा अपराध बढ्ने भन्दै प्रहरीले अभियुक्त पक्राउलाई प्राथमिकता दिएको प्रहरी प्रवक्ता एसएसपी वशन्त कुँवरले बताए।

प्रतिक्रिया