समाज


निजी विद्यालय खोल्न पाँच लाख धरौटी, प्रधानाध्यापकको भत्ता वृद्धि

निजी विद्यालय खोल्न पाँच लाख धरौटी, प्रधानाध्यापकको भत्ता वृद्धि

नेपालखबर
असार १९, २०८३ शुक्रबार १८:१५, काठमाडौँ

सरकारले निजी विद्यालय खोल्न राखिने धरौती रकम बढाएको छ भने सामुदायिक विद्यालयका लागि धरौटी राख्न नपर्ने व्यवस्था गरेको छ। 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पारित गरेको शिक्षा नियमावली (१०औँ संशोधन) ले निजी विद्यालय खोल्न माध्यमिक तहमा १० लाख र आधारभूत तहमा पाँच लाख धरौटी राख्नु पर्ने व्यवस्था रहेको छ। यसअघि माध्यमिक विद्यालयको धरौटी दुई लाख रुपैयाँ थियो। 

नियमावलीले सामुदायिक विद्यालयमा भने धरौटी रकम राख्नु नपर्ने व्यवस्था गरेको छ। यसअघि सामुदायिक विद्यालयको माध्यमिक तह खोल्न एक लाख रुपैयाँ धरौटी राख्नु पर्ने व्यवस्था थियो। 

यस्तै माध्यमिक विद्यालयको प्रधानाध्यापकको भत्ता बढाइएको छ। नियमावलीमार्फत पाँच सय रहेको भत्ता बढाएर तीन हजार बनाइएको छ।

आधारभूत तह (कक्षा ६ देखि ८ सम्म) को प्रधानाध्यापकको भत्ता दुई हजार बनाइएको छ। यसअघि उनीहरूको भत्ता तीन सय रुपैयाँ थियो। 

आधारभूत तह (कक्षा १ देखि ५ सम्म) को प्रधानाध्यापकको भत्ता एक हजार बनाइएको छ। यसअघि दुई सय भत्ता दिइँदै आएको थियो। 

त्यस्तै, प्रधानाध्यापक नियुक्तिको लागि आधारभूत तहको हकमा स्नातक र माध्यमिक तहको हकमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ। स्वीकृत शिक्षा नियमावली (१०औँ संशोधन) मा प्रधानाध्यापक नियुक्तिको लागि स्थानीय तहले सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकमध्येबाट दरखास्त आह्वान गर्ने प्रावधान राखिएको छ। 

शिक्षाशास्त्र विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेको शिक्षक माध्यमिक तहको प्रधानाध्यापक पदमा उम्मेदवार बन्न पाउनेछन्। यस्तै, शिक्षाशास्त्र विषयमा प्रमाणपत्र तह वा सो सरह उतीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेको शिक्षक आधारभुत तहको प्रधानाध्यापकको पदमा उम्मेदवार हुन पाउने प्रावधान राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad