समाज


मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ६:२६,

कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ।

बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ। सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो।

तोकिएको अवधि आगामी पुसमा निर्माण सकिने नदेखिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार कोभिडका कारण ढिलाइ भएका आयोजनामा ६ महिना अवधि थप्न सकिने सरकारको निर्णयका आधारमा थप्न लागिएको हो। उनले भने, ‘चैतसम्ममा आयोजनाले काम सम्पन्न गर्छ भन्ने हामीलाई लागेको छ।’

निर्माण कम्पनीले आगामी चैतबाट पानी पथान्तरण नै गर्न सकिने बताएको सूचना अधिकारी पन्तले जानकारी दिए। उनका अनुसार गत असारमा सुरुङको परीक्षणका क्रममा अस्थायी बाँधबाट पानी सुरुङमा पठाइएको थियो। अहिले आयोजनाले पुनः पानी पथान्तरण गर्ने योजना बनाइरहँदा ‘हेडबक्स’ निर्माण सकिएमा त्यसैबाट पथान्तरण गर्न सकिनेछ।

बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुनसकेको थिएन। निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको थियो।

स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सञ्चालन थियो। लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ। काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो। आयोजना निर्माणका लागि एशियाली विकास बैंकसँग सन् २००१ मा सम्झौता भएको थियो। पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो।

केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो। पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad