राजनीति


जो बाइडेन र ट्रम्पका समर्थकबीच चक्कु हानाहान, चार घाइते, २३ गिरफ्तार

जो बाइडेन र ट्रम्पका समर्थकबीच चक्कु हानाहान, चार घाइते, २३ गिरफ्तार

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ६:१७,

मत परिणामअनुसार डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चित भइसकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पराजित भएका हुन्।

यद्यपी डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको आफ्नो दाबीलाई छाड्न चाहिरहेका छैनन्। यसबीचमा उनले चुनावमा धाँधली भएको आरोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन्।

राष्ट्रपति ट्रम्पले चार राज्यमा निर्वाचन नतिजा उल्ट्याउने गरेको प्रयास त्यहाँको सर्वोच्च अदालतले शुक्रबार मात्र अस्वीकार गरेको थियो।

Grinning Joe Biden has Donald Trump frowning – Mysuru Todayट्रम्प र बाइडेन

ट्रम्पले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति चयनको चुनावअन्तर्गत जर्जिया, मिसिगन, पेनसिल्भेनिया र विस्कान्सिन राज्यको मत परिणाम अमान्य गराउन माग गरेका थिए, जहाँ उनका प्रतिद्वन्दी जो बाइडेनले जितेका छन्।

तर सर्वोच्च अदालतले यस विषयमा कुनै कानुनी आधार नभएको उल्लेख गर्दै यो मुद्दा सर्वोच्च अदालतमा चलाउन नसकिने बताएको थियो।

अबको प्रक्रिया

अमेरिकी संचारमाध्यमका अनुसार राष्ट्रपति–निर्वाचत जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्ने अनुमान गरिएको छ जबकी राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत मात्र प्राप्त गर्नेछन्। राष्ट्रपति बन्नका लागि कूल ५३८ इलेक्टोरल मतमध्ये २७० मत आवश्यक पर्दछ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको र राष्ट्रपति पदको नतिजामा शंका लाग्ने निराधार दाबी गरिरहे पनि राज्यहरुले चुनावी मतपरिणाम प्रमाणित गरी पठाएका हुन्।

इलेक्टोरल कलेज प्रक्रियाको अर्को प्रमुख कदम भनेको निर्वाचनको बैठक हो। यस वर्ष इलेक्टोरल कलेजको बैठक यही डिसेम्बर १४ मा अर्थात् भोली बस्दैछ।

यो बैठकले प्रदान गर्ने मतलाई अमेरिकी कंग्रेस समक्ष हस्तान्तरण गरिन्छ। आगामी जनवरी ६ मा बस्ने कंग्रेसको संयुक्त सत्रमा इलेक्टोरल मत गणना र प्रमाणीकरण गरिन्छ।

२७० भन्दा बढी इलेक्टोरल कलेज भोट जितेकाले बाइडेन राष्ट्रपति घोषणा हुनेछन्। आगामी जनवरी २० मा उनले राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन्।

प्रदर्शन

चुनावमा परातिज भएपछि पनि डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको आफ्नो दाबीलाई छाड्न चाहिरहेका छैनन्।

यसबीचमा शनिबार मात्र ट्रम्पका पक्षधर प्राउड ब्वाइज समुहले चुनावमा धाँधली भएको भन्दै वासिङटन डीसीका सडकहरुमा प्रदर्शन गरेका थिए।

सो क्रममा बाइडेन पक्षधरका एन्टिफा काउन्टर प्रोटेस्टर समूहसँग प्राउड ब्वाइज समुहको झडप भएको थियो। यस झडपमा चक्कु हानाहान भएको प्रहरीको भनाइ छ।

प्रहरीले बल प्रयोग गर्दै झडपलाई तित्तर बित्तर बनाएका थिए। चार जनाको शरीरमा छुरा प्रहार भएको बताइएको छ। यतिबेला उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

शनिबारको यस झडपमा प्रहरीले २३ जनालाई गिरफ्तार गरेको द गार्जियनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .