विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो २० वर्षयता विश्वमा सबैभन्दा बढी मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको जनाएको छ।
डब्लूएचओका अनुसार मधुमेहबाहेक डिमेन्सिया अर्थात् बिर्सिने रोग पनि सबैभन्दा बढी ज्यान लिने विश्वका १० रोगभित्र परेका छन्।
डब्लूएचओले सन् २००० देखि २०१९ सम्मको स्वास्थ्य प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा बढी मृत्युको कारण बनेका १० रोगमध्ये ७ रोग यस्ता छन्, जुन अरूमा सर्दैनन्। जसलाई नसर्ने रोग भनिन्छ।
पछिल्लो २ दशकयताको तथ्यांक आश्चर्यजनक छ। प्रतिवेदनअनुसार विश्वमा रोगका कारण हुने मृत्युमा १६ प्रतिशत हिस्सा मुटु रोगले लिएको छ। पछिल्लो २० वर्षयता भने मुटुसम्बन्धी रोगका कारण हुने मृत्यु २० लाखभन्दा बढीले वृद्धि भएको छ। सन् २०१९ सम्म यसबाट भएको मृत्युको संख्या ९० लाख पुगेको छ। दोस्रो स्थानमा स्ट्रोक छ।
डब्लूएचओका महानिर्देशक जनरल डा. टेड्रोस अधानोमले भनेका छन्, ‘यो तथ्यांकले हामीलाई नसर्ने रोगबाट बच्न, यसकाे परीक्षण तथा उपचारमा ध्यान दिन आवश्यक रहेको देखाएको छ। सुरुमै स्वास्थ्यप्रति ध्यान दिएर हामी यस्ता रोगबाट मात्र होइन, महामारीबाट पनि बच्न सक्छौं।’
यस्तै प्रतिवेदनले मुटुपछि सबैभन्दा बढी मृत्युको कारण श्वासप्रश्वास सम्बन्धी रोग भएको देखाएको छ। स्राेत : दैनिक भास्कर

प्रतिक्रिया