बेलायतले विदेशबाट आउने यात्रु र कोभिड–१९ संक्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त वास (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गरेको छ।
शुक्रबार त्यहाँको सरकारले यस्तो जानकारी दिएको हो। वेल्समा यस अघिदेखि नै यो नियम लागू गरिएको थियो। अब भने संयुक्त अधिराज्य (बेलायत) का इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड संक्रमितको लागि नयाँ नियम सोमबारदेखि लागू हुनेछ।
कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागू गर्दा कुनै फरक नपर्ने ठहर बेलायतका चिकित्सकले गरेका हुन्।
कार्डिफ, एडिनबर्ग र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू गरेका छन्। ‘सङ्क्रमितले पनि १० दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिनेछांै,’ बेलायती वरिष्ठ चिकित्सकहरुले भनेका छन्। सङ्क्रमण नियन्त्रणका लागि क्वारेन्टिन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको उनीहरुको भनाई छ।
बेलायतमा अहिलेसम्म कोभिड–१९ को कारण ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कूल सङ्क्रमितको सङ्ख्या करिब १८ लाख पुगेको छ। यसै साता बेलायत सरकारले फाइजर र बायोएनटेकद्वारा उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपलाई मान्यता दिएपछि देशभरका ७३ अस्पतालमा एकै पटक खोप सेवा सुरु भइसकेको छ। एजेन्सी
Shares

प्रतिक्रिया