लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीसहित २२ जनाको हत्या कसुरमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ।
सन् २००५ मा भएको हत्यामा संलग्न भएको ठहर गर्दै विद्रोही समूह हेजबुल्लाका कार्यकर्ता ५७ वर्षीय सलिम अयाशलाई आजीवन जेल सजाय सुनाइएकाे हाे।
राष्ट्रसंघीय अदालतले उनीविरुद्ध शुक्रबार फैसला गरेको हाे। उनले आत्मघाती बम आक्रमण गर्दा अरबपति राजनीतिज्ञसहित २२ जनाको मृत्यु भएको ठहर गरिएको छ।
दर्दनाक र अति चर्चित उक्त आक्रमणमा २२६ जना घाइते समेत भएका थिए।
सलिमलाई आजीवन काराबासको सजाय फैसला गर्दै राष्ट्रसंघीय अदालतका प्रधानन्यायाधीश डेभिड रेले भने, ‘श्री अयाश आम नरसंहारमा संलग्न भएको पुष्टि भएको छ, त्यसैले उनलाई आजीवन काराबासको सजाय फैसला गरिएकाे हाे।’
हेजबुल्लाह समूहका प्रमुखले भने अदालतको फैसलाप्रति आपत्ति जनाएका छन्। पूर्वाग्रहका आधारमा फैसला गरेको उनकाे आरोप छ।
उक्त घटनामा मारिएका लेबनानका तत्कालीन प्रधानमन्त्री हरिरीले सन् २००४ अक्टोबरमै राजीनामा दिइसकेका थिए। त्यसपछि सन् २००५ फेब्रुअरीमा उनको हत्या भएकाे हाे। एजेन्सी
Shares

प्रतिक्रिया