यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार यसै महिनादेखि फाइजरको खोप क्यानडा भित्रिने बताएका छन्।
फाइजरको खोप बेलायतमा लगाउन सुरु भइसकेको छ। मंगलबार ९० वर्षकी वृद्धा मार्गरेट किनानमा खोप लगाएर खोप कार्यक्रम सुरुवात भएको छ।
‘९० वर्षको उमेरमा कोरोनाको खोप मैले लगाउन सक्छु भने यो खोप सबैले लगाउन सक्छन्’ उनले भनेकी छिन्।
फाइजरको खोपले बहराइनमा पनि प्रयोगका लागि स्वीकृति पाइसकेको छ। यस खोपलाई अमेरिकाले पनि मंगलबार ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको बताइसकेको छ।
दक्षिण कोरियाले पनि मंगलबार फाइजरको २ करोड २० लाख डोज खोप भित्र्याउने बताएको थियो।
यसबीचमा क्यानडामा पनि यसै महिनादेखि फाइजरको खोप उपलब्ध हुन लागेको हो।
प्रधानमन्त्री ट्रुडोले भनेका छन्,‘फाइजरसँग खोपबारे सम्झौता भइसकेको छ। पहिलो लटमा २ लाख ४९ हजार डोज प्राप्त गर्नेछौं।’
क्यानडाले अन्य औषधि निर्माता कम्पनी एस्ट्राजेनिका, सानोफी एन्ड जीएसके, नोभाभाक्स, जोन्सन एन्ड जोन्सन, मेडिकागो र मोडेर्नाको खोप प्राप्त गर्न पनि सम्झौता गरेको छ।
आफ्ना ३ करोड ८० लाख जनताका लागि क्यानडाले ४० करोड डोज खोप मगाएको छ। एजेन्सी
Shares

प्रतिक्रिया