संयुक्त राज्य अमेरिकामा गएको २४ घण्टामा कोरोना भाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ।
त्यसैगरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको बाल्टिमोरआवद्ध विश्वविद्यालयले शनिबार राती ८ बजे जानकारी दिएको छ।
गत वर्षको डिसेम्बरबाट चीनको हुपेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको कारण अमेरिका सब भन्दा बढी प्रभावित भएको छ।
अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भईरहेको जनाइएको छ।
अमेरिकामा कोरोना भाइरस सुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको मृत्यु भईसकेको छ। रासस/एएफपी

प्रतिक्रिया