समाज


घर न घाटको बनायो फेसबुके मायाले

घर न घाटको बनायो फेसबुके मायाले

राजेन्द्रप्रसाद पनेरु
मंसिर १९, २०७७ शुक्रबार ५:८,

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ कि ताराले कहिल्यै पनि सोचेकी थिइनन्। सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन्।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए। मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए। तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे।

‘गत वर्षको फागुन ११ गतेको कुरा हो। ताराको घरमै आएर रमेशले घरका माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात त्यहीँ बसे। भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर तारासँग कर गर्न थालेपछि उनी नाइनास्ती गर्न नसकी झलारी बजारसम्म गइन्।

‘तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ। तिम्रो परिवार गरिब रहेछ। मेरा साथीभाइ बिहेमा आउन मान्दैनन्। तिमी जान्छ्यौ भने यहीँबाट हिँड, भागी विवाह गरौँ’, झलारी पुगेपछि रमेशले प्रस्ताव राखे। ‘वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला। राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ’, ताराले भनिन्।

त्यसपछि उनीहरु डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा जाए। एक/दुई महिना राम्रैसँग बित्यो। रमेशले पनि निकै राम्रो व्यवहार गरे। ‘जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जबर्जस्ती औषधि खुवाई गर्भपतन गराइयो’, उनले भनिन्। असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्तस्राव हुन थाल्यो ताराको रक्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो। उपचारपछि तारा निको भइन्,। दुवैजना माइती घरमा गए। ।

ताराको माइतीमा बस्दा झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश त्यसपछि फर्केनन्। ‘माइतीमै छाडेर भाग्नुभयो। कता गएको खबर नै गर्नुभएन’, उनले गहँभरि आँशु खसाल्दै भनिन्।

तीन दिनपछि फोन उठाएका रमेशले फनमै धम्की दिँदै भने, ‘तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन। मेरो घरमा आए पछि तेरो लाश हुन्छ।’

उनले त्यसपछिका अतीत खोतल्दै भनिन्, ‘सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ। केही सहारा थिएन। भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन। मार्ने धम्की दिँदै आएकाले निकै मानसिक हिंसा सहनुपर्यो।’

ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा यी कुरा बताएकी हुन्। रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन।

उनी भन्छिन्, ‘कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो। भेट गराइदिनुपर्यो। सम्झाएपछि अपनाउने अझै विश्वास छ। म ऊ बिना बाँच्न सक्दिनँ।’

घर न घाटकी भएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुगेकी छन्। सेवा केन्द्रको सेफहाउसमा बस्दै आएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ।

‘प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन। प्रहरीमा उजुरी दिएको ६ महिना बितेको छ’, अधिकारकर्मी बिष्नादेवी पन्तले भनिन्, ‘भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ। भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन।’ सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उनले बताइन्।

प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन्। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताउछन्।

अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्यादतिका अधिकांश घटना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउछन्। कानूनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उनको भनाइ छ।

‘पुरुषको तुलनामा महिला अधिक हिंसामा पर्ने गरेका छन्। यसको मुख्य कारकका रुपमा जाँडरक्सीको अनियन्त्रितरूपमा बिक्री वितरण नै हो’, अधिवक्ता भट्टले भने, ‘केही नपाइने ठाउँमा मदिरा पाइन्छ। यसको नियन्त्रण जरुरी छ।’

एकअर्काको भावना नबुझिकनै गरिने प्रेम विवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उनले यसरी गरिएका प्रेम विवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताए। उनका अनुसार देखासिखीमै गरिने प्रेम विवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन्।

‘कानूनी उपचार नगरिकनै अधिकांश हिंसाका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्’, उनले थपे, ‘सबैभन्दा बढी यौनजन्य हिंसाका घटना बढी छन्। त्यसपछि मानसिक प्रताडनाका घटना आउने गरेका छन्।’

झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घरेलु हिंसाका छ, गालीगलौजका १२, कुटपिटका २०, वादविवादका तीन, बालविवाहका पाँच, अलपत्र परेका महिला पाँच, बहुविवाहका चार गरी ५५ जनाले उजुरी गरेका छन्। तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad